लन्डन । इग्ल्यान्ड र नेदरल्यान्ड युरोकपको सेमिफाइनलमा पुगेका छन् । इग्ल्यान्डले स्वीटजरल्यान्डलाई पेनालन्टी सुटआउटमा ५–३ ले र नेदरल्यान्डले टर्कीलाई २–१ ले पराजित गरेर सेमिफाइनलमा पुगेका हुन् ।
शनिबार राति सम्पन्न खेलको निर्धारित समयमा १-१ गोलको बराबरी भएको थियो । थपिएको ३० मिनेटमा कुनै गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो ।
खेलमा अग्रता स्वीस टोलीले लिएको थियो । ७५ औं मिनेटमा ब्रिल एम्बोलोले गोल गरेर अग्रता दिलाए । त्यसको पाँच मिनेटपछि बुकायो साकाले बराबरी गोल गर्दै इङ्ल्याण्डलाई खेलमा फर्काएका थिए ।
इङ्ल्याण्डका सबै खेलाडीले पेनाल्टीमा गोल गरे भने स्वीट्जरल्याण्डका एक खेलाडीको प्रहार गोलकिपरले रोकेका थिए । इङ्गल्याण्डले सेमिफाइनलमा नेदरल्यान्डसँग खेल्ने छ ।
आइतबार बिहान भएको खेलमा टर्कीले खेलको ३५औं मिनेटमा खेलमा अग्रता लिएको थियो । आर्डा गुलेरको क्रसमा अकायदिनले हेडमार्फत गोल गर्दै टर्कीलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफको ७०औं मिनेटमा मेम्फिस डिपाएको क्रसमा हेडमार्फत गोल गर्दै स्टेफान डेभ्रिजले खेल बराबरीमा ल्याए ।
७६औं मिनेटमा फेरी अर्को गोल गर्दै नेदरल्याण्ड्सले अग्रता लियो । डेन्जेल डमफ्रिजको क्रसमा मर्ट मल्डुरले आत्मघाती गोल गरेपछि नेदरल्याण्ड्सले अग्रता लिन सफल भयो । सोही गोल नै जितका लागि पर्याप्त गयो ।