९ श्रावण २०८१, बुधबार
Follow Us

नेदरल्याण्डलाई हराउँदै इङ्गल्याण्ड युरो कपको फाइनलमा

नेपालब्रिटेन डट कम्
२७ असार २०८१, बुधबार २१:०७

निर्धारित समयको अन्तिम मिनेटमा ओले वाट्किन्सले निर्णायक गोल गरेपछि नेदरल्यान्ड्सविरुद्ध २–१ को जित निकाल्दै इंग्ल्यान्ड लगातार दोस्रो पटक युरोपियन च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति जर्मनीको डर्टमन्डमा भएको खेलमा डच टिमले अग्रता बनाए पनि त्यसलाई कायम राख्न सकेन । खेलको सातौँ मिनेटमा नै जाभी सिमोन्सको गोलमा नेदरल्यान्ड्सले अग्रता बनाएको थियो । सिमोन्सले १८ यार्ड बक्स बाहिरबाट सेकेन्ड बारमा उत्कृष्ट गोल गरेका थिए ।

तर, नेदरल्यान्ड्सको यो अग्रता लामो समय टिक्न सकेन । १८औँ मिनेटमा कप्तान ह्यारी केनले प्राप्त पेनाल्टीलाई सदुपयोग गरेपछि इंग्लिस टिम खेलमा फर्किएको थियो । नेदरल्यान्ड्सका डेन्जेल डम्फ्रिजले १८ यार्ड बक्सभित्र ह्यारी केनमाथि नै फाउल गरेपछि इंग्ल्यान्डले भिडियो असिस्टेन्ट रेफ्री (भार)को सहयोगमा पेनाल्टी जितेको थियो । जसमा केनले कुनै गल्ती गरेनन् ।

निर्धारित समयको अन्तिम मिनेटमा वाट्किन्सले गोल गर्दै इंग्ल्यान्डलाई २–१ को अग्रतामा राखे । कोल पाल्मेरको पासलाई नियन्त्रणमा राख्दै वाट्किन्सले पेनाल्टी बक्सबाट आकर्षक गोल गरे । इंग्ल्यान्डले दोस्रो हाफमा डच टिमविरुद्ध यो नै एकमात्र ‘अन टार्गेट’ प्रहार थियो । वाट्किन्सले ८१औँ मिनेटमा कप्तान ह्यारी केनको स्थानमा मैदान प्रवेश गर्ने अवसर पाएका थिए ।

वाट्किन्सको यही गोल निर्णायक बन्दा ग्यारेथ साउथगेटको प्रशिक्षणमा रहेको इंग्लिस टिम लगातार दोस्रो पटक युरोपियन च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको हो ।

त्यसअघि खेलको ८०औँ मिनेटमा बुकायो साकाले गोल गरे पनि भारबाट खारेज हुँदा इंग्ल्यान्ड अग्रता लिनबाट चुकेको थियो ।

इंग्ल्यान्डले अब उपाधिका निम्ति स्पेनसँग प्रतिस्पर्धा गर्नेछ । स्पेनले यसअघि पहिलो सेमिफाइनलमा फ्रान्सविरुद्ध २–१ को जित निकाल्दै फाइनलमा स्थान बनाएको थियो ।

इंग्लिस टिमले युरो–२०२० मा पनि फाइनलसम्मको यात्रा तय गरेको थियो । तर, उपाधि भिड्न्तमा इटालीसँग पेनाल्टी सुटआउटमा निराश बन्दा इंग्ल्यान्डले उपविजेतामा चित्त बुझाएको हो । सन् १९६८ देखि युरोपियन च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दै आएको भए पनि इंग्ल्यान्डले हालसम्म उपाधि भने जित्न सकेको छैन ।