काठमाडौँ । बालेन नेतृत्वको सरकारले शासकीय सुधारअन्तर्गत संघीय मन्त्रालयको संख्या १७ मा झार्ने निर्णय गरेको छ।
मन्त्रालयहरूको संख्या आवश्यकताभन्दा बढी हुँदा चालु खर्च बढेको निष्कर्ष निकाल्दै सरकारले ३० दिनभित्र मन्त्रालयको संख्या घटाउने नीति लिएको हो। यसका लागि नेपाल सरकार (कार्य विभाजन) नियमावली संशोधन गरिने उल्लेख गरिएको छ।
मन्त्रालयहरूको संख्या पुनरावलोकन गर्ने क्रममा हाल कायम रहेका दरबन्दीहरू समेत व्यवस्थापन गर्दै सेवा प्रवाहमा असर नपर्ने गरी पुनर्संरचना गरिने जनाइएको छ।
यसैसँगै सेवा निरन्तरताका लागि संक्रमण मार्गचित्र (ट्रान्जिसन रोडम्याप) तयार गरिने तथा जनशक्ति, बजेट र कार्यक्रम सञ्चालनमा समन्वय गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘पुनर्संरचना व्यवस्थापन सचिवालय’ गठन गर्ने व्यवस्था गरिएको छ।
सरकारले प्रशासनिक सुधार, मितव्ययिता र प्रभावकारी सेवा प्रवाहलाई लक्ष्य राख्दै उक्त निर्णय कार्यान्वयनमा लैजाने जनाएको छ।