लन्डन । नेपाली कांग्रेसका युवा नेता तथा गण्डकी प्रदेश सांसद डिल्ली राम सुवेदी बेलायत आउने भएका छन् ।
सांसद सुवेदी बेलायतबाट सञ्चालित नेपालब्रिटेन डट कमको आगामी सेप्टेम्वर १ तारिख आइतबार आयोजना हुने १७ औं वार्षिकोत्सव समारोहमा भाग लिन लण्डन आउन लागेका हुन् । उनी एक साता बेलायतमा रहने बताइएको छ ।
सन् २००७ को जुन महिनादेखि अनलाइन सेवा सञ्चालनमा आएको समाचार पोर्टलले १७ औं वार्षिकोत्सव मनाउने तयारी गरेको हो ।
नेपालब्रिटेन डट कमका संस्थापक अध्यक्ष चिरन्जीबी ढकालका अनुसार स्ट्यान्स स्थित स्ट्यावेल कम्यूनिटीमा आयोजना हुने सो समारोहमा बेलायतमा सक्रिय १० सामाजिक व्यक्तित्वहरुलाई सम्मान गर्ने तयारी गरिएको छ ।
कार्यक्रममा नेपालका प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय नेताहरुको समेत उपस्थिति रहने अपेक्षा गरिएको छ।
अनलाइनले हरेक वर्षमा बेलायतमा रहेर विभिन्न सामाजिक क्षेत्रमा सक्रिय चर्चित व्यक्तिहरुको सूची सार्वजनिक गर्दै आएको छ । गत वर्षहरुमा जस्तै नेपाली समुदायसँग वार्षिकोत्सव मनाउने तयारी गरिएको ढकालले बताए।
सो अवसरमा गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसी, नेपाली दूतावास लन्डन, स्थानीय सबै सामाजिक संघसंस्था, पत्रकार, बुद्धिजीवी लगायतको उपस्थितिमा नेपालबाट आएका कलाकारहरुले विभिन्न सांस्कृतिक कार्यक्रमको प्रस्तुति दिने भएका छन्।
नेपालब्रिटेन डट कमका सम्पादक चिरन शर्माले गत वर्षहरुमा जस्तै यो वर्ष पनि बेलायतमा चर्चित दश नेपालीलाई सम्मान गरिने जानकारी दिए। उनले बेलायतस्थित नेपाली समुदायको सिफारिसमा चर्चित १० जनाको नाम चयनको प्रकृया अघि बढेको बताए ।