तीन प्रस्तावमा सहमति
नारायण भण्डारी। अस्टिन/टेक्सास । ग्रेटर अस्टिन नेपाली समाजमा लामो समयदेखि बल्झिरहेको विवाद समाधान गर्न तीनवटा प्रस्तावमा आम सहमति जुटाइएको छ। ग्रेटर अस्टिन नेपाली समाजका ट्रस्टी सदस्यहरूको आज संस्थाको सभा हलमा भएको लामो छलफल र वादविवादपछि तीन प्रस्तावमा सबै समस्यालाई समाधान गर्ने सहमति गरेर विवाद टुंग्याइएको हो।
लामो समयदेखि विवादको कारण बनेको पशुपतिनाथ मन्दिर निर्माणका समयमा भएका खर्चको छानबिन गर्न छानबिन समिति गठन, संस्थाको विवादास्पद विधान संशोधन गर्न विधान संशोधन समिति र पशुपतिनाथ मन्दिर संचालक समिति गठन गरेर विवादहरूको निरुपण गरिएको हो।
गत अप्रिलमा संस्थाको पाँचौं अधिवेशन भएको थियो। सो अधिवेशनका बेला आम सहमतिमा विधान संशोधन समिति गठन गर्न र विधि र प्रक्रिया पूरा गरेर मन्दिर संचालक समिति गठन गर्न माग गरिएको थियो, तर तत्कालीन समितिका पदाधिकारीहरूले जबर्जस्ती समितिको चयन गर्दै आम ट्रस्टी सदस्यहरूको माग वेवास्ता गरेका थिए। संस्थाको विधानविपरीत गठन गरिएको मन्दिर संचालक समिति भंग गरेर आज भएको समाजको वृहत छलफलमा कमल अधिकारीको संयोजनमा ३५ सदस्यीय तदर्थ समिति गठन गरिएको छ। त्यसैगरी अबको सय दिनभित्र संस्थाको विधान निर्माण गरी मन्दिर संचालक समितिको विधिवत् गठन गरिने भएको छ।
मन्दिर संचालक समितिका पछिल्ला गतिविधिले पशुपतिनाथ मन्दिर परिसरमा निर्माण गरिनु पर्ने सम्पूर्ण कार्य ठप्प भएको थियो। मन्दिरलाई सहयोग गर्ने ट्रस्टीहरूले सहयोग पूर्ण रूपमा रोकिदिएपछि मन्दिरको थप निर्माण रोकिएको थियो।
ग्रेटर अस्टिन नेपाली समाजको सभा हलमा आज भएको छलफलमा बोल्दै सिपी पौडेलले आफ्ना जायज मागहरू सम्बोधन गरेर संस्थालाई वैधानिक बाटोमा हिँडाउनु पर्ने माग गर्नु भएको थियो।
त्यसैगरी संस्थाका संस्थापक अध्यक्ष नविन दाहालले संस्थाको आर्थिक पक्षलाई पारदर्शी बनाउन पूर्व अध्यक्ष भोजराज भट्टको पालामा भएको आम्दानी खर्चको तेस्रो पार्टीबाट अडिट गराइनु पर्ने माग गर्नु भएको थियो। त्यस्तै संस्थाका संस्थापक महासचिव मदन शिवाकोटीले संस्थाका समस्यालाई तीनवटा कुरामा केन्द्रित गरेर समाधान निकालिनु पर्नेमा जोड दिनु भएको थियो। कार्यक्रममा सशक्त मन्तव्य राख्दै अर्का ट्रस्टी उद्दव खनालले पूर्व समितिका पदाधिकारीहरूले जबर्जस्ती मन्दिर संचालक समिति गठन गरेर विधानविपरीत काम गरेकोले सुधार अपरिहार्य भएको बताउनु भयो। त्यसैगरी ट्रस्टीहरू शुशिल त्रिपाठी, महेश रेग्मी, राज कुमार सुवेदी, शम्भु दवाडी, शुलभ पौडेल, कमल अधिकारीले मन्तव्य राख्नु भएको थियो।
ग्रेटर अस्टिन नेपाली समाज अस्टिन शहर वरिपरिका १९ वटा काउन्टीमा बसोबास गर्ने नेपालीहरूको साझा संस्था हो। यहाँ करिब १५ हजार भन्दा बढी नेपालीहरू स्थायी रूपमा बसोबास गर्ने अनुमान गरिएको छ।