२७ असार २०८२, शुक्रबार
Follow Us

एनआरएनमाथि छानबिन गर्न पाउनुपर्ने अख्तियारको प्रस्ताव

नेपालब्रिटेन डट कम्
७ भाद्र २०८१, शुक्रबार २१:३०

लण्डन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरआवासीय नेपालीहरूबाट भ्रष्टाचार भएमा छानबिन गर्न पाउनुपर्ने प्रस्ताव राखेको छ ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा भ्रष्टाचार निवारण ऐन, ०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफलको क्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानून सचिव फणिन्द्र गौतमले अख्तियारको प्रस्ताव समेट्नुपर्ने बताए ।

अख्तियारले गैरआवासीय नेपाली नागरिकलाई समेत भ्रष्टाचार ऐन लागु हुनुपर्ने विषय राख्ने प्रस्ताव गरेको हो । मूल ऐनमा भ्रष्टाचार गरेको मानिने कुनै काम गरी विदेशमा बस्ने गैरनेपाली नागरिकका हकमा लागु हुने उल्लेख छ ।

अख्तियारले गैर आवासीय नेपाली नागरिकलाई पनि लागु गर्नुपर्ने प्रस्ताव राखेको हो । “यो ऐन नेपाल राज्यभर लागु हुनेछ र नेपालबाहिर जहाँसुकै रहे बसेका नेपाली नागरिक, राष्ट्रसेवक र यस ऐनबमोजिम भ्रष्टाचार गरेको मानिने कुनै काम गरी विदेशमा बस्ने गैरनेपाली नागरिक र गैरआवासीय नेपाली नागरिकलाई समेत लागु हुनेछ,” आयोगको प्रस्तावमा उल्लेख छ ।

अख्तियारको उक्त प्रस्तावमा समिति अनिर्णीत रह्यो । एनआरएनलाई भोटिङबाहेक आर्थिक सामाजिक, सांस्कृतिक अधिकार दिएपछि उनीहरूमाथि छानबिन गर्न पाउनुपर्ने मत केही सांसदले राखे ।

धेरै पढिएको