लन्डन। ब्राजिलको साउपाउलो अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेका १ सय ७६ नेपालीहरुमा सकुशल रहेका छन् ।
ब्राजिलस्थित नेपाली दूतावासका अनुसार साउपाउलो विमानस्थलको ट्रान्जिट इलाकामा तेस्रो मुलुक जान खोज्ने नेपाली सहित करिब ७०० विदेशीहरु अलपत्र छन् । दुतावासले मंगलवार एक विज्ञप्ति जारी गर्दै सबै नेपाली नागरिकहरु सकुशल रहेको र आवश्यक अनुसार उनीहरुलाई मानवीय सहायता पुराउने तयारी दूतावासको रहेको जनाएको छ ।
विज्ञप्तिमा ‘अमेरिका ब्राजिल लगायतका मुलुक हुँदै अवैध रुपमा संयुक्त राज्य अमेरिका प्रवेश गर्ने उदेश्यले विभिन्न स्थानबाट दक्षिण अमेरिकी मुलुकहरुमा आउने प्रवृति बढ्दो रहेको उल्लेख छ।
दुतवासले संगठिक रुपमा संचालित मानव तस्कारहरुको प्रलोभन र उक्सावटमा परी नेपालीबाट समेत युवाहरु यस क्षेत्रमा आउने गरेको जानकारी वेलावेलामा हुने गरेको छ । कयौंले अकल्पनीय पीडा व्यहोर्नुका साथै ठूलो धनराशी खर्च गर्नुपर्ने परिस्थितिमा फस्न पुगेको पाइएको उल्लेख छ ।
‘ब्राजिल सरकारले तत्काल लागू हुने गरी नेपाल लगायतका देशका राहदानीबाहकलाई प्रवेशाज्ञा लिएको भएमा मात्र ब्राजिल प्रवेशको अनुमति दिने नियम ल्याएको छ । अब उप्रान्त ब्राजिल भएर सिधै गन्तव्य मुलुकतर्फ उड्न पाउने र त्यसरी नगएमा सोही विमानमार्फत फिर्ता पठाइने तर विमानस्थलमा शरणार्थीको मान्यता नदिइने जनाएको’ दूतावासको विज्ञप्तिमा उल्लेख छ ।
दूतावासले ‘मानव तस्कारहरुको संजाल प्रयोग गरी गरिने यसप्रकारको यात्रा अवैध, जोखिमपूर्ण र अनिशिचत हुने समेत सन्दर्भमा जायज कारण भएको पुष्टि गर्ने कागजात र प्रवेशाज्ञा लिई मात्र ब्राजिल वा ब्राजिल वा ब्राजिल हुँदै अन्य मुलुकको भ्रमणमा निस्कनुहुन सम्बन्धित सबैमा अनुरोध गरेको छ ।
यसअघि, गैरआवासीय नेपाली संघ चिली, ब्राजिलस्थित नेपाली राजदूत निर्मलराज काफ्लेको सकृयतामा ती नेपालहरुको उद्धारको लागि नेपाल सरकारसंग समन्वयनमा काम थालिएको थियो ।