२९ भाद्र २०८१, शनिबार
Follow Us

एनआरएनए केन्द्रीय कार्यालयबाट तीन अध्यक्षको फोटो हटाइयो !

नेपालब्रिटेन डट कम्
१८ भाद्र २०८१, मंगलवार ०५:१३

लण्डन । सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्दै गैरआवासीय नेपाली संघको केन्द्रीय कार्यालयबाट तीन जना अध्यक्षको फोटो हटाइएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्धय तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुंगानाको गत महिनाको फैसलाले गैरआवासीय नेपाली संघको महाधिवेशन स्वायत्त हुने व्याख्या गर्दै संघको १० औं महाधिवेशनमा विना निर्वाचन अध्यक्ष घोषित भएका डा. बद्री केसी, कुल आचार्य र रविना थापाको कार्यसमिति बदर गरेको थियो ।

गैरआवासीय नेपाली संघको स्रोतका अनुसार सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्दै डा. बद्री केसी सहित तीनै जनाको फोटो केन्द्रीय कार्यालयको भित्ताबाट हटेको छ ।

डा. केसी ११ औं महाधिवेशबाट निर्वाचित अध्यक्ष रहेको हुदाँ उनको फोटो वर्तमान अध्यक्षको रुपमा केन्द्रीय कार्यालयमा राखिएको छ ।

सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघ (एनआरएनए) मा डा. बद्री केसीको कार्यसमितिलाई कामकाज गर्न नरोक्नू भनी परराष्ट्र मन्त्रालयलाई आदेश दिएको थियो ।

स्रोतले भन्यो ‘कानुनको पालना गर्नु सबैको कर्तव्य हो, भावनामा चलेर हुदैन् । डा. केसीले आफ्नो निर्वाचित कार्यसमितिको रक्षाको लागि सर्वोच्चमा पुग्नु भयो । अब रविना थापा र कुल आचार्यले आफ्नो फोटो संघको केन्द्रीय कार्यालयमा फिर्ता ल्याउने हो भने यसअघि सर्वोच्च अदालतले गरेको फैसलालाई पुनरावेदन दिन जानु पर्छ । उहाँहरुले आफु माथि अन्याय भएको ठानेमा सर्वोच्चमा अपील गर्न सक्ने बाटो अझै खुल्ला छ ।’

यसअघि २०८० चैत २१ गते सर्वोच्चका न्यायाधीशहरु सपना प्रधान मल्ल र नहकुल सुवेदीको इजलासले २०७८ सालमा भएका संघका समानान्तर महाधिवेशन र कार्यसमिति खारेज गरी पूर्वअध्यक्ष शेष घलेको अध्यक्षतामा गठन भएको उच्चस्तरीय समितिलाई ६ महिनाभित्र महाधिवेशन गराउन आदेश दिएको थियो ।

संस्थामा निर्णय गर्ने सबैभन्दा उच्च निकाय नै महाधिवेशन हुने र महाधिवेशनबाट चुनिएको कार्यसमिति (२०२३ २०२५) को वैधानिकतामाथि अदालतमा प्रश्न समेत नउठेकाले त्यसलाई काम गर्न दिनुपर्ने भनी सर्वोच्च अदालतले आदेश जारी गरेको हो ।

यसैबीच गैरआवासीय नेपाली संघको वेवसाइटबाट संघको २०२१– २०२३ को कार्यसमितिको नामावली समेत सर्वोच्चको फैसला बमोजिम हटाइएको छ ।