काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शतरसिंह भण्डारी घरेलु महिला श्रमिकलाई काममा लगाउने विषयमा विभिन्न देशहरूसँग ‘घरेलु कामदार सम्बन्धी प्रोटोकल’मा हस्ताक्षर गर्ने तयारी भइरहेको बताएका छन् ।
मंगलबार संसदमा उठेका प्रश्नहरूको जवाफ दिँदै भण्डारीले महिला श्रमिकको रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन प्रोटोकलहरूमा दुईपक्षीय सहमति गर्न वार्ताहरू भइरहेको बताए ।
तर, कुन-कुन देशसँग यस्तो वार्ता भइरहेको हो भन्ने उनले खुलाएनन् । प्रस्तावित प्रोटोकलहरूमा महिला कामदारहरूलाई थप सुरक्षित बनाउन संसदीय समितिहरूले समय-समयमा दिएका निर्देशनहरुलाई समेत समावेश हुने मन्त्री भण्डारीको भनाइ छ । संसदीय समितिको निर्देशनका कारण ९ वर्षदेखि घरेलु काममा सरकारले श्रमिकलाई श्रम स्वीकृति दिएको छैन ।
तर, अन्य भिसामा विदेशमा लगेर घरेलु श्रमिकका रूपमा काममा लगाउने क्रम बढ्दो छ । विभिन्न खाडी मुलुकहरूले घरेलु श्रमिक आपूर्तिलाई वैधता दिन नेपालसँग अनुरोध गर्दै आएका छन् । उनीहरूको दबाबका बाबजुद पनि संसदीय समितिले घरेलु श्रमिकबारे छुट्टै श्रम समझदारी गरेर मात्रै श्रम स्वीकृत दिन पाउने गरी सरकारलाई रोक लगाएको छ ।
मन्त्री भण्डारीले श्रम स्वीकृति लिएर संस्थागत रूपमा जाने महिला कामदाहरुको हकमा श्रम सम्झौता विपरीतका कार्यहरू भएमा सरकारले सम्बन्धित वैदेशिक रोजगार व्यवसायीहरूलाई जिम्मेवार बनाइरहेको बताए । कुनै उजुरी दर्ता हुन आए कानून अनुसार कारबाही गर्ने काम पनि भइरहेको उनको दाबी छ ।
गन्तव्य मुलुकमा सम्पर्कमा आएका पीडित नेपाली कामदारहरूको हकमा सम्बन्धित दूतावासमार्फत राहत तथा उद्धार भइरहेको उनले बताए । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको अवस्था, विभिन्न माध्यमबाट प्राप्त हुने समस्या र गुनासाहरूलाई २४ घण्टा नै सञ्चालन हुने कल सेन्टरदेखि सुरक्षाकर्मीसहितको ¥यापिड रेस्पोन्स टिमबाट सुनवाइ हुने व्यवस्था गरिएको मन्त्री भण्डारीको दाबी छ ।
उजुरीको सम्बोधनका लागि वैदेशिक रोजगार विभागबाट नेपाली कूटनीतिक नियोगमार्फत शीघ्र उद्धार लगायतका सम्बन्धमा सूचना लिने सहजीकरण गर्ने र उद्धार गर्ने कार्य निरन्तर उनको दाबी छ ।
नेपालबाट खुला भएका गन्तव्य मुलुकमा श्रम स्वीकृतिबाहेक जुनसुकै भिसाबाट पुगेर प्रचलित कानून बमोजिमको कार्य विदेशी मुलुकमा गरिरहेको भए मे ३०, २०२४ सम्म विदेशस्थित नेपाली कूटनीतिक नियोगमा निवेदन दिएमा एक पटकका लागि श्रम स्वीकृति (वैधानिकीकरण)उपलब्ध गराइएको समेत उनले बताए ।
वैदेशिक रोजगारमा जान चाहने नेपालीहरू ठगी तथा समस्यामा नपरुन् र सम्बन्धित देशको कानूनी तथा अन्य विषयवस्तुमा जानकारी होस् भन्ने हेतुले महिलाहरूका लागि पूर्वप्रस्थान अभिमुखीकरण तालिम निःशुल्क दिने व्यवस्था मिलाइएको पनि मन्त्री भण्डारीले बताए ।