काठमाडौं । सर्वोच्च अदालतले राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न आदेश दिएको छ ।
आइतबार बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा सुनुवाइ गर्दै न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राख्न नपर्ने निष्कर्ष निकाल्दै तत्काल मुक्त गर्न आदेश दिएको हो ।
यसअघि बिहीबार न्यायाधीश मेघराज पोखरेलको इजलासले प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन र कारण देखाउन आदेश दिएका थिए ।
प्रसाईंका छोरा निराजनले बुधबार दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी परिसर लगायतलाई विपक्षी बनाइएको थियो ।
दुर्गा प्रसाईंलाई गत सोमबार मध्यराति प्रहरीको टोलीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो । उनका बडीगार्ड दीपक खड्कालाई पनि प्रहरीले साथै नियन्त्रणमा लिएको थियो ।