२९ भाद्र २०८१, शनिबार
Follow Us

पुर्ख्यौली रोइला र खेली गीतको संरक्षणमा युवा

नेपालब्रिटेन संवाददाता
२० भाद्र २०८१, बिहीबार ०७:०७

स्याङ्जा । स्याङ्जामा पुर्ख्यौली रूपमा गाइने खेली र रोइला गीतको संरक्षण गर्न थालिएको छ । जिल्लाको काली गण्डकी गाउँपालिका ७ मिर्मीका युवाहरु पुरानो तथा मौलिक संस्कृतिको पहिचानको जगेर्ना गर्नका लागी युवाहरूले अभियान नै सुरु गरेका हुन् ।

गाउँका बुढा पाकाको सहयोगमा इतिहास बोकेको संस्कृति संरक्षणमा अभियान सुरु गरेको जनाएका छन् । काली गण्डकी नदीको आसपास विशेष गरी स्याङ्जा र पाल्पा विभिन्न ठाउँहरूमा खेली र रोइला गीत निकै लोकप्रिय रहँदै आएको छ । स्थानीय मिर्मिरे युवा क्लबको सक्रियतामा पुराना संस्कृतिको संरक्षणका लागि पहल थालिएको हो । युवाहरूले पुरानो संकृतिको संरक्षणमा विशेष चासो देखाएका क्लबका अध्यक्ष शङ्कर न्यौपानेले बताउनु भयो ।

आफूहरू सानो हुँदा सुनिने गरेको खेली र रोइला पछिल्लो पटक सुन्न छोडिएको भन्दै आफूहरूले सक्रियता देखाएको क्लबका सदस्य ज्ञान प्रसाद न्यौपानेले बताउनु भयो । युवापुस्ताले बेवास्ता गर्दा यस्ता संस्कृतिको अस्तित्व सङ्कटमा परेको छ । आधुनिकताले गाउँबाट मान्छे हराए,मान्छेसँगै गीत गाउने चलन हरायो, गीतमा आवश्यक पर्ने मौलिक बाजा हराए ।” नयाँ पुस्ताले आफ्ना मौलिक संस्कृतिको महसुस हुन छोडेपछि उक्त कामको थालनी गरिएको हो । मौलिक संस्कृति जगेर्ना गर्ने खालको सामाजिक कार्यक्रमको आयोजना गर्न तीजलाई खेली र रोइलामय बनाउने उद्देश्य समेत क्लबको रहेको छ ।