लण्डन – गैरआवासीय नेपाली संघ (एनआरएनए) को एउटा समूहले संघका पूर्वअध्यक्ष शेष घलेलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ।
संघका पूर्वउपाध्यक्ष कुल आचार्यको सक्रियतामा गत साता काठमाडौंमा बसेको एक भेलाले शेष घलेले सर्वोच्च अदालतको फैसला बमोजिम निर्वाचन प्रक्रिया अघि नबढाएको निष्कर्ष निकाल्दै, घलेलाई निर्वाचन गर्न दबाब दिने निर्णय गरेको थियो।
गत निर्वाचनमा संघको पराजित समूहका नेता आरके शर्मा, कुल आचार्य र डा. केशव पौडेलको समूहले घलेविरुद्ध मुद्दा दर्ता गरेको हो।
सोमबार नै पेस गरिएको रिट निवेदन सर्वोच्च प्रशासनले बुधबार दर्ता गरेको थियो। रिट निवेदकहरूमा केशव पौडेल, ठाकुर प्रसाद ढुंगाना लगायतका व्यक्तिहरू रहेका छन्। सो रिटमा छलफल गर्न सर्वोच्चले बिहीबार दुवै पक्षलाई बोलाएको छ।
रिटमा एनआरएनएको सचिवालय, कामनपा वडा नं. ४ बालुवाटार; गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष तथा संरक्षक शेष घले; संघका अध्यक्ष डा. बद्री केसी; र संघका सह–कोषाध्यक्ष कृष्ण प्रसाद तिमिल्सिनालाई विपक्षी बनाइएको छ।
गत अक्टोबरमा सम्पन्न ११ औँ महाधिवेशनबाट आफू विधिवत निर्वाचित भएको जिकिर गर्दै, शर्माले दायर गरेको रिटमा बद्री केसी धाँधली गरेर निर्वाचित भएको जिकिर गरेका छन्। स्मरणीय रहोस्, सर्वोच्च अदालतको गत महिनाको फैसला अनुरुप गैरआवासीय नेपाली संघको आधिकारिक अध्यक्षको रूपमा डा. केसीले बालुवाटारस्थित कार्यालयबाट कामकारबाही गर्दै आएका छन्।
‘प्रस्तुत निवेदनलाई पूर्ण इजलासमा पठाइ, गैरआवासीय नेपाली संघको विवादको स्थायी समाधानका लागि ११ औँ महाधिवेशनबाट विधिवत् रूपमा निर्वाचित हामी निवेदकहरूलाई काम गर्न दिनु भनी प्रत्यर्थी परराष्ट्र मन्त्रालय र प्रत्यर्थी गैरआवासीय नेपाली संघको कार्यालयका नाममा परमादेशको आदेश जारी गरी पाउँ।’
सर्वोच्च अदालतको फैसला पछि संघका अध्यक्ष डा. केसीले आफ्नो सक्रियता अघि बढाएपछि, कुल आचार्य, डा. केशव पौडेल र आरके शर्मा समूहको टोली काठमाडौंमा जम्मा भएको थियो।
सो समूहले गैरआवासीय नेपाली संघको अभियानमा कांग्रेस-माओवादीको समीकरण कायम रहेको भन्दै प्रचारवाजी गरेका थिए।