काठमाडौं । रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न माग गर्दै सूर्यदर्शन सहकारी पीडित बचकर्ताले प्रदर्शन गरेका छन् । सहकारीको पैसा गोर्खा मिडियामार्फत लामिछानेले दुरूपयोग गरेको भन्दै पीडितले जिल्ला प्रशासन कार्यालय कास्की बाहिर नाराबाजीसहित प्रदर्शन गरिरहेका हुन् ।
जिल्ला प्रशासन कार्यालयको गेटनेर सहकारी पीडित र त्यसकै ठिकअगाडि शहीद चोकको चौतारामा रास्वपाका नेता कार्यकर्ताले नाराबाजी गरिरहेका छन् । पीडिले लामिछानेलाई पक्राउ गर्न माग गरिरहेका छन् भने रास्वपा नेता-कार्यकर्ताले लामिछानेलाई पक्राउ नगर्न चेतावनी दिइरहेका छन् ।
सूर्यदर्शन सहकारी पीडित र रवि समर्थक नेता कार्यकर्ता आमने-सामने हुँदा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।
विभिन्न सहकारीमा भएको अपचलनबारे छानबिन गर्न बनेको विशेष संसदीय समितिको सिफारिस र गृहमन्त्री रमेश लेखकको निर्देशनपछि आइतबार गोरखा मिडिया प्रालिका सेयर सदस्य तथा सञ्चालक पूर्व डिआइजी छविलाल जोशीलाई पक्राउ परेर पोखरा ल्याइएको छ ।
झन्डै डेढ अर्ब अपचलन भएको सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियामा ५ करोड रूपैयाँ देखिएको छ । सहकारीका अध्यक्ष जीबी राईलाई भगाउन पनि रविकै संलग्नता रहेको आरोप पीडित संघर्ष समितिले लगाएका छन् ।