काठमाडौं । नागढुंगा-नौबिसे सडक खण्डअन्तर्गत झ्याप्ले खोलामा पहिरोले बस पुरिंदा एक नवविवाहित दम्पतीको ज्यान गएको छ ।
गुल्मी मदाने गाउँपालिका-६ घिउपानी चामागाउँका ३४ वर्षीय प्रकाश कुँवर र श्रीमती ३१ वर्षीया अनु कुँवरको सँगै ज्यान गएको हो । रोजगारीका सिलसिलामा दक्षिण कोरिया पुगेका प्रकाश एक महिनाअघि घर आएर अनुसँग विवाह गरेका थिए ।
प्रकाश र अनु एक महिनाअघि मात्र विवाह बन्दनमा बाँधिएका मदाने गाउँपालिका उपाध्यक्ष सरिता खड्काले जानकारी दिइन् । प्रकाश फेरि कोरिया फर्कने तयारीमा थिए ।
दाजुभाउजुसँगै प्रकाशकी बहिनी २७ वर्षीया सिर्जना कुँवरको पनि सोही स्थानमा मृत्यु भएको छ । सोही पहिरोमा पूरिएर गुल्मीदरबार गाउँपालिका-७ लामडाडाका एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
६३ वर्षीय जुद्धबहादुर रायमाझी, उनकी बुहारी ३१ वर्षीया प्रमिता रायमाझी भुसाल र नाती ३ वर्षीय कृषव रायमाझीको मृत्यु भएको गुल्मीदरबार गाउँपालिका-७ का वडाध्यक्ष शालिकराम टण्डनले जानकारी दिए ।
बुटवलबाट शुक्रबार बिहान छुटेको लु१ज४५७८ नम्बरको बस धादिङको झ्याप्ले खोलामा शनिबार राति पहिरोले पुरिएको थियो । उनीहरु ६ जनाकै शव शनिबार बिहान सुरक्षाकर्मीले पहिरोबाट निकालेका थिए ।