२५ आश्विन २०८१, शुक्रबार
Follow Us

क्यालिफोर्नियामा ज्योति मगर र रचनाको कार्यक्रममा मुक्का हानाहान

नेपालब्रिटेन डट कम्
१५ आश्विन २०८१, मंगलवार २०:१२

माधव मरासिनी ।क्यालिफोर्निया । नेपालका चर्चित कलाकारहरू सहभागी एक कार्यक्रममा नेपालीहरूबीच मुक्का हानाहान भएको छ।

गत साता गायिका शान्तिश्री परियार, रचना रिमाल, ज्योति मगर र करिष्मा ढकाल सहभागी रहेको ‘अब नाच्छ’ कार्यक्रममा सो घटना भएको हो। घटनामा दुई दर्जन व्यक्तिहरू मुछिएका छन्। उनीहरूबीच ग्याङ फाइट भएको बताइएको छ।

दरबार इन्टरटेनमेन्ट एण्ड सबसु प्रोडक्सनको प्रस्तुतीमा भएको कार्यक्रममा सांगीतिक कार्यक्रम हेर्नको लागि मातेर आएका युवाहरूले मनोरञ्जनभन्दा पनि आपसमा कुटाकुट गरेका घटनाले यहाँ रहेका नेपालीको संगीततर्फको आकर्षण घटाएको छ।

आयोजकको वेवास्ता र भद्रगोल व्यवस्थापनले यस्ता घटनालाई बढावा दिएको यहाँ रहेका नेपालीहरू बताउँछन्।

कार्यक्रम चलिरहेको बेला रक्सीले मातेका नेपाली जनसम्पर्क समितिका कार्यवाहक सभापति नारायण खनाललाई युवाहरूको समूहले एक युवकमाथि हात छोडेपछि स्थिति नियन्त्रणबाहिर गएको थियो।

कुटपिटबाट युवकको शरीरमा चोटपटक लागेको छ। विदेशमा अहिले आपसी रिसीबी मेट्ने ठाउँ सांगीतिक कार्यक्रम बनेको छ। बेला बखत सांगीतिक कार्यक्रममा हुने गरेका झगडामा कुटाइ खाने पीडितले उपचार नपाएका धेरै उदाहरण छन्।

शनिबार वे एरियामा आयोजना गरिएको ‘अब नाच्छ’ कार्यक्रममा यस्तै घटना दोहोरिएको छ। सांगीतिक नेपाली समाजका जान्ने-मान्नेहरू पनि यस्ता खाले घटनाको बारेमा मुख खोल्दैनन्। कार्यवाहक सभापतिको बचाउमा लागेका छन्। पीडितको पक्षमा बोल्न कोही छैन। घटनाका पीडितहरू पनि बाहिर बोल्न डराउँछन्।

सो घटनामा झगडा हुँदा कार्यवाहक सभापतिलाई सुरक्षा गार्डले घेकुलो समाएर बाहिर निकालेका थिए।

मेलमिलापको प्रयास

घटनालाई सामान्य पार्न आयोजकले सोमबार बक्लि क्षेत्रमा झगडियाहरूको भेला गरेको थियो। घटनामा संलग्नहरूले एक अर्कालाई अमेरिकास्थित प्रहरीमा उजुरी दिने धम्की दिएका थिए। घटनामा २४ जनाभन्दा बढी घाइते भएको बताइएको छ।