लण्डन । नेपालमा हालै आएको बाढी र पहिरोका पीडितहरूको स्वास्थ्य सम्बन्धी परामर्श प्रदान गर्ने उद्देश्यले गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ‘हेल्थ हटलाइन’ सुरु गरेको छ।
गैरआवासीय नेपाली संघका सल्लाहकार डा. संजीव सापकोटाका अनुसार, पीडितहरूले आफ्नो स्वास्थ्य समस्याहरूका लागि विज्ञ चिकित्सकहरूसँग सिधै सम्पर्क गर्न सक्नेछन्। पीडितहरूले चिकित्सकहरूलाई कल वा म्यासेज गरेर आफूले भोगेको विपद्का कारण उत्पन्न भएका स्वास्थ्य समस्याहरू वा पहिलादेखिका स्वास्थ्य समस्याहरू झनै बिग्रिएको अवस्थामा स्वास्थ्य सल्लाह लिन सक्नेछन्।
हटलाइनमा मानसिक स्वास्थ्य सम्बन्धी सल्लाहकारहरू पनि समावेश छन्, जसलाई मानिसहरूले विपद्का कारण भएको मानसिक आघात, जस्तै अनिद्रा, डर, चिन्ता, झर्को लाग्ने, र आत्महत्याका विचार आउने समस्याहरूमा सल्लाह लिन सम्पर्क गर्न सक्नेछन्।
हटलाइनमा डा. शागर विश्वकर्मा, डा. संगित छन्त्याल, डा. कुन्दन कुमार यादव र डा. शिवराम महतोले स्वास्थ्य सम्बन्धी परामर्श दिने भएका छन्। विस्तृत जानकारीको लागि डा. संजीव सापकोटा, शक्ति चौरसिया, र डा. प्रभात अधिकारीलाई सम्पर्क गर्न संघले आग्रहको समाचार संयोजक तथा आइसीसी सदस्य चिरन शर्माले जनाएका छन्।