१९ मंसिर २०८१, बुधबार
Follow Us

६५ लाखमा किनेको नयाँ गाडी एक महिनामै दुर्घटनाग्रस्त

नेपालब्रिटेन संवाददाता
२२ आश्विन २०८१, मंगलवार ०४:१०

काठमाडौं । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ जयरामघारका कान्छा कार्कीले नयाँ गाडी किनेर चलाउन थालेको महिना दिन पनि पुगेको थिएन । गत भदौ ३० गते ६५ लाखमा किनेको बागमती प्रदेश ०१–००६ ख ६७८५ नम्बरको बस सोमबार दुर्घटना भयो ।

काठमाडौंबाट ३९ यात्रु बोकेर भोजपुरतर्फ जान लागेको गाडी मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा अचानक पल्टियो । दुई जनाको घटनास्थलमै मृत्यु भयो ।

मृतकमध्ये हतुवागढी गाउँपालिका–१ भोजपुरका २६ वर्षीय मृतक बुद्धिमान तामाङको मात्र पहिचान खुलेको छ । दुवै शव पोष्टमार्टमका लागि सिन्धुली अस्पतालमा राखिएको छ । दुर्घटनापछि घटनास्थलमा कोलाहल मच्चियो । गाडीभित्र रहेकाहरु बचाऊ बचाऊ भन्दै रुवाबासी गर्न थाले ।

दुर्घटनाका प्रत्यक्षदर्शीले घटनास्थल नजिक रहेको महेन्द्रझ्याडी प्रहरी चौकीलाई खबर गरे । घटनास्थल नजिक रहेका प्रहरी १० मिनेटको अन्तरालमा घटनास्थल पुगे । प्रहरी र स्थानीयले यात्रुको उद्धार गरे ।

सिन्धुली प्रहरी प्रवक्ता डिएसपी अनिलकुमार खड्का र सशस्त्र प्रहरी बलका डिएसपी बलराम प्रसाईंको नेतृत्वमा गएका सुरक्षाकर्मीले उद्धार गरे । सिन्धुली प्रहरी प्रमुख एसपी गोविन्दराज काफ्ले आफैं पनि घटनास्थल पुगे । दुर्घटनामा घाइते भएका २३ यात्रुलाई सिन्धुली अस्पताल लगियो ।

घाइतेमध्ये गम्भीर घाइते भएका १० जनालाई थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको एसपी काफ्लेले जानकारी दिए । सामान्य घाइते १० जना उपचारपछि घर फर्किएका छन् । तीन जनाको सिन्धुली अस्पतालमै उपचार भइरहेको छ । बाँकीको प्राथमिक स्वास्थ्य केन्द्र, कपिलाकोटसहित स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

गाडी मालिक ४६ वर्षीय कान्छा कार्की आफू निन्द्रामा रहेकाले गाडी दुर्घटना हुनुको कारण थाहा नभएको बताउँछन् । हात र कम्मरमा चोट रहेका कार्कीका १२ वर्षीय छोरा वसन्त, दुई छोरीहरु २० वर्षीया गीताञ्जली र २१ वर्षीया पुष्पाञ्जलीसँगै उनको अस्पतालमा उपचार भइरहेको छ ।

तीव्र गतिका कारण गाडी दुर्घटना भएको हुनसक्ने गाडीमा सवार भोजपुर नगरपालिका–६ भँगेरीका ४० वर्षीय प्रमेश दाहालले बताए ।

काठमाण्डुबाट हेटौँडा बजारसम्म आउँदा सडकमा गाडीको चाप बढी भएका कारण बिस्तारै हिंडेको बस हेटौँडामा खाना खाएर मदन भण्डारी राजमार्ग प्रवेश गरेपछि चालकले तीव्र गतिमा कुदाएको उनले बताए । चालक उदयपुरका ४० वर्षीय रमेश दनुवारको अवस्था गम्भीर छ । उनलाई पनि धरान लगिएको छ ।