लण्डन । ‘नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्रका साथ समृद्ध नेपालको परिकल्पना गर्दै सन् २००३ मा सुरु भएको गैरआवासीय नेपाली अभियान २१ वर्ष पूरा गरेर नव अध्याय सुरु गरेको छ । विश्वभर रहेका नेपालीहरुलाई एकैसुत्रमा बाँध्ने उद्देश्यले स्थापना भएको यस संस्थाले परिवर्तित समय र सन्दर्भमा आफूलाई पनि परिष्कृत गर्दै लैजाने चुनौती स्वीकार्दै आफूलाई मातृभूमि नेपालको इमानदार साझेदारको रुपमा आफूलाई उभ्याउन सक्षम भएको संघका अध्यक्ष डा. बद्री केसीद्धारा शुक्रवार जारी शुभकामनामा उल्लेख छ ।
शुभकामना सन्देशमा ‘आफ्नो स्थापनाको २१ औँ वर्षगाँठ मनाइरहँदा ८७ देशमा औपचारिक सञ्जालको विस्तार गरेर विभिन्न मुलुकमा छरिएर रहेका नेपाली समुदायलाई एकबद्ध गर्न संघ सफल भएको छ ।
विभिन्न मुलुकमा छरिएर रहेका नेपालीहरुलाई एकताबद्ध गर्दै विदेशमा आर्जन गरेको ज्ञान, सीप, प्रविधि र पुँजीलाई मातृभूमि नेपालको सामाजिक तथा आर्थिक विकासमा सदुपयोग गर्ने उद्देश्यका साथ स्थापना भएको गैरआवासीय नेपाली संघ हाम्रा अग्रजहरुको अथक प्रयास र समर्पणले स्वदेश तथा विदेशमा बस्ने नेपालीको आशा र भरोसाको केन्द्र बनेको छ । विदेशमा रहेका पहिलो पुस्ताको पदचाप पछ्याउँदै दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरूले पनि मातृभूमिप्रतिको अपनत्व महसुस गर्न थालेको अनुभव हामीले गरेका छौँ ।
गैरआवासीय नेपाली संघले आफ्नो स्थापनाको २१ औँ वर्षगाँठ मनाइरहँदा स्थापना कालदेखिका माग तथा मुद्दाहरु क्रमशः सम्बोधन हुने क्रम जारीको उल्लेख छ’ ।
स्थापानदेखिका माग कार्यान्वयन
विज्ञप्तिमा ‘गैरआवासीय नेपाली संघ स्थापनादेखि नै मुख्य रुपमा उठान गरिएका माग तथा मुद्दाहरुमध्ये गैरआवासीय नेपाली नागरिकता प्राप्ति पछि त्यसको कार्यान्वयनका लागि विभिन्न पहल भएका छन् । गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र वितरणको कार्य अहिले अधिकांश जिल्ला प्रशासन कार्यालयहरुबाट सहज रुपमा भइरहेको छ । नेपाल सरकारले गैरआवासीय नेपाली नागरिकता वितरणको कार्य सुरु भएको सकारात्मक सन्देश विश्वभर पुगेसंगै गैरआवासीय नेपालीहरु आवश्यक कागजातसहित नागरिकता लिनको लागि नेपाल आउने क्रम बढ्दो रहेको उल्लेख छ’ ।
यस्तै, ‘वैदेशिक रोजगारी तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिकलाई योगदानमा आधारिक सामाजिक सुरक्षा कोष योजना, लगानी प्रवद्र्धन, विदेशमा बस्ने नेपालीको मताधिकारको अधिकार र धितोपत्रमा विदेशबाटै कारोबार गर्ने प्रक्रियाको विषयमा निरन्तर छलफल गरिएको छ भने शिक्षा तथा स्वास्थ्य, कला साहित्य तथा पर्यटन, उद्योग तथा सञ्चार, उर्जा लगायत खेलकुद, युवा तथा महिला सशक्तिकरणका लागि महत्वपूर्ण कार्यहरु भएको उल्लेख छ’ ।
मेघा प्रोजेक्टहरुको प्रगति
संघका मेघा प्रोजेक्टहरुको प्रगति उल्लेख्य छ । नेपालमा पहिलो पटक विश्वभरका महिलालाई एउटै फोरममा ल्याउन अन्तर्राष्ट्रिय महिला सम्मेलनको तयारी भइरहेको छ । विदेशमा रहेका दोस्रो पुस्ताका युवा खेलाडीहरुलाई नेपालको राष्ट्रिय खेलकुद प्रतियोगितामा जोड्न संघ सफल भएको छ । यस वर्षपनि दोस्रो पुस्ताका खेलाडीहरुलाई राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने तयारी जारी रहेको संघले जनाएको छ ।
१ खर्ब लगानी र रोजगारी
अध्यक्ष केसीद्धारा जारी विज्ञप्तिमा, ‘वैदेशिक लगानीका सम्भावनाहरु सीमित भएको र आन्तरिक स्रोत साधनको सिमितताबीच रहेको नेपालका लागि गैरआवासीय नेपाली समुदायको उपस्थिति आर्थिक खाडल पूर्तिका लागि नौलो अवसर बन्न सक्ने देखिएको छ । नेपालका जलविद्युत, बैकिङ, पर्यटन, स्वास्थ्य, शिक्षालगायतका क्षेत्रमा गैरआवासीय नेपालीको उल्लेख्य लगानी भित्रिरहेको छ । पूँजीसहित ज्ञान, सीप र प्रविधि भित्र्याउन नेपाल सरकारले दिएको अवसर हाम्रा महत्वपूर्ण छ ।
एनआरएन डेभलप्मेन्ट फण्डमार्फत विदेशमा रहेका ठूला लगानीकर्ता मात्रै होइन साना तथा मझौला लगानीकर्ताहरु पनि देशमा लगानी भित्र्याउन संघले जारी राखेको पहल अन्तिम चरणमा पुगेको छ । नेपालको विकास र पूर्वाधार निर्माणका क्षेत्रमा पनि गैरआवासीय नेपालीहरुको उपस्थिति बढ्दो छ । पछिल्लो दुई दशक भन्दा बढीको यस अवधिमा विदेशमा बस्ने नेपालीमार्फत करीब एक खर्ब भन्दा बढी लगानी भित्रिसकेको छ । आर्थिक लगानी मात्रै होइन यस सँगै बौद्धिक लगानी भित्र्याउन पनि संस्थागत प्रयास जारी छ । जसअनुसार ३ वटा ज्ञान सम्मेलन नेपालमा सम्पन्न भइसकेका छन् । परोपकारका क्षेत्रमा मात्र साढे एक अर्ब भन्दा बढीको सहयोग गरिएको छ । नेपालको समृद्धिका लागि मात्रै होइन प्राकृतिक विपतमा पनि संघले सरकार र नेपाली नागरिकलाई सहयोग गर्दै आएको उल्लेख छ’ ।
विदेशमा लामो समय बसेर त्यहाँको आर्थिक–सामाजिक परिवेश राम्रोसँग बुझेका गैरआवासीय नेपालीले त्यहाँको समाज र सरकारसँग नेपाललाई जोडेर नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई सुदृढ बनाउन नेपाली यस संघले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । अर्थमा सम्पन्न व्यक्ति मात्रै होइन, संघ श्रमिकमैत्री बनेको छ । बाध्यताले श्रम गर्न गएका नेपालीलाई समेट्ने, तिनको हक–हितका लागि बोल्ने उनीहरुको कुरा सुन्ने र उनीहरुको साझा संस्था बनाउने दायित्व पूरा हुँदै गएको छ । समग्रमा संघ विश्वभरका गैरआवासीय नेपालीको अभिभावक बनेको संघले दावी गरेको छ ।
विज्ञप्तिमा ‘गैरआवासीय नेपाली दिवस ‘फेस्टिभल’ का रुपमा मात्र होइन, मातृभूमिप्रतिको माया, जिम्मेवारीका साथै केही गर्न सकिन्छ कि भनेर छलफल गर्ने ‘प्लेटफर्म’ पनि भएको छ । नेपालमा आज पशुपतिनाथ तथा स्वयम्भूमा विशेष पूजाआजासहित संसारभरि छरिएर रहेका नेपालीले दिवस धूमधामका साथ मनाइरहेका छन् ।
दिवसका अवसरमा अक्टोबरको पहिलो सातादेखि नै राष्ट्रिय समन्वय परिषद्हरुले विभिन्न कार्यक्रम गर्दै आएका छन् । यसै अवसरमा काठमाण्डौँमा २७ र २८ अक्टोबर २०२४ एनआरएन डे विशेष कार्यक्रमसहित ग्लोबल कन्क्लेभको आयोजना गरेका छौँ । सोही क्रममा संघले वार्षिक साधारण सभा समेत आयोजना गर्दैछौँ जसले ऐतिहासिक यात्रामा अर्को इँटा थप्नेछ भन्नेमा हामी विश्वस्त छौँ । गैरआवासीय नेपाली संघलाई आजको दिनसम्म ल्याउन प्रत्येक गैरआवासीय नेपाली, नेपाल सरकार, सरोकारवाला संघसंस्था, सहयोगी निकायहरु राष्टिय तथा अन्तर्राष्टिय संघसंस्था, सञ्चार क्षेत्र सबैको भूमिका महत्वपूर्ण छ । हामी सबै मिलेर नै आजको सफलता हासिल गर्न सम्भव भएको उल्लेख छ’ ।