२७ असार २०८२, शुक्रबार
Follow Us

मेयर हर्क साम्पाङले युकेमा उठाए १ करोड सहयोग

नेपालब्रिटेन डट कम्
४ कार्तिक २०८१, आईतवार १८:३७

लण्डन । धरानको मेयरमा जनताले बहुमत दिएर जिताएदेखि नै हर्क साम्पाङ देश-विदेशमा चर्चाको केन्द्रमा रहँदै आएका छन्। पद सम्हालेपछि धरानका विभिन्न समस्या समाधानको लागि श्रमदान अभियानदेखि सहयोग संकलनसम्म गर्दै आइरहेका साम्पाङले खानेपानीको समस्या समाधान, वृक्षारोपण, पार्क निर्माणजस्ता कार्यहरू अघि बढाएका छन्। धरानलाई पर्यटकीय आकर्षणको केन्द्र बनाउने उद्देश्यसहित अगाडि बढेका साम्पाङले दुई ठूला परियोजनाहरू- कोशी नदीको पानी तानेर धरानमा खानेपानीको दिगो व्यवस्थापन गर्ने जुन कार्य नेपाल सरकारले गर्ने गरि र चिण्डे डाँडामा सुम्निमा पारुहाङको प्रतिमा पार्क निर्माण- अघि बढाएका छन्। सुम्निमा पारुहाङको प्रतिमा पार्क निर्माण परियोजना श्रमदान र आर्थिक सहयोग बाट सम्पन्न गर्ने लक्ष्यका साथ मेयर साम्पाङ अहिले युकेमा सहयोग संकलन र भेटघाटको अभियानमा छन्।

युकेको केन्टमा आयोजित दुई च्यारिटी कार्यक्रमहरू, फोल्कस्टोनस्थित लेमन लिफ रेस्टुरेन्टमा १८ तारिख साँझ र ग्राण्ड बर्स्टिन होटेलमा १९ तारिख, हर्क साम्पाङको परिवारलाई सम्मान गर्दै आयोजना गरिएको थियो। दुई कार्यक्रमबाट अहिले यो समाचार तयार पार्दा सम्म एक करोड रुपैयाँभन्दा बढी सहयोग संकलन भएको छ।

फोल्कस्टोनको ग्राण्ड बर्स्टिन होटलमा धरान समाज युकेद्वारा आयोजित भेटघाट कार्यक्रममा सयौं धराने र अन्य नेपालीहरूले सहभागिता जनाए। कार्यक्रममा सुम्निमा पारुहाङको प्रतिमा पार्क निर्माण चाँडै सम्पन्न होस् भन्ने शुभकामना दिंदै आर्थिक सहयोग पनि संकलन गरियो।

युकेका संघ संस्थाहरु, एन आर एन युकेका अध्यक्ष प्रेम गाहा मगर, किरात राई यायोक्खा युकेका अध्यक्ष भुपजित राई, बरिष्ठ उपाध्यक्ष सुमन चन्द्र राई, मगर संघ अध्यक्ष, याक्थुंग चुम्लुङ्ग युके, फोल्कस्टोन नेपाली समाजका अध्यक्ष, युकेमा नेपाली मुलकी पहिलो मेयर, मेड्वे काउन्सिलका तर्फबाट क्याबिनेट मेम्बर काउन्सिलर निना गुरुङ, दोश्रो शाही गोर्खा राइफल्स (गोर्खा पल्टन) का गोर्खा मेजर, मेजर डिल्ली कुमार राई MVO (Member of the Royal Victorian Order), सेनाका अधिकृत र सकल दर्जाका दाजुभाई दिदि बहिनीहरु, गोर्खा नेपाली समाज मेडवेका अध्यक्ष भबिन साम्पाङ्ग, मिडिया, बिएफबिएस गोर्खा रेडियो युकेका प्रतिनिधिहरु लगायत धेरै संघ संस्थाका अध्यक्ष प्रतिनिधि र गन्यमान्य व्यक्तित्वहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

रात्रिभोजका लागि मेयर साम्पाङलाई बाग पाइपरको संगीतले स्वागत गरिएको थियो। मेयरले आफू पहिलो पटक यस्तो भव्य र औपचारिक कार्यक्रममा सरिक भएको अनुभव बाँड्दै सबैलाई धन्यवाद दिए। मेयरको सम्मानमा धरान समाजका अग्रज अबिभाबक पदम बहादुर राई BEM (British Empire Medal ) ले कार्यक्रमको शुरुवाती संचालन गर्नु भएको थियो, बाँकी कार्यक्रमको संचालन धरान समाज युकेका महासचिब डा. महा राईले सम्हाल्नु भएको थियो। सांस्कृतिक प्रस्तुति, वृत्तचित्र प्रदर्शन र मेयरको आमाको भिडियो संदेश प्रसारण गरिएको कार्यक्रममा भावनात्मक क्षण पनि देखियो। मेयरले आफ्ना दाजुलाई सम्मान गर्दै स्टेजमा बोलाएर खादा लगाइदिएर ढोगे पछि बाबुको निधन पछि बाबु समान दाजुको छत्रछाँयाले संधै सहयोग मिलेको बताउँदै गर्दा उपस्थित व्यक्तिहरू भावुक बनेका थिए।

कार्यक्रमको अन्त्यमा, धरान समाज युकेका उपाध्यक्ष तथा कार्यक्रम सम्योजक भास्कर राईले भेटघाट तथा च्यारिटी रात्रिभोजमा ४० लाख रुपैयाँभन्दा बढी संकलन भएको जानकारी दिए पछि मुख्य अतिथि मेयर हर्क साम्पाङ लाई बिदाइ गरिएको थियो।

नोभेम्बर २ तारिख स्वदेश फर्किनु अघिल्लो दिन सम्मै कार्यक्रमको तालिका पूर्ण भएकाले पनि युके देखि राम्रै आर्थिक सहयोग उपलब्ध हुने देखिन्छ ।

– भूमिराज राई मेडवे केन्ट

धेरै पढिएको