६ माघ २०८१, आईतवार
Follow Us

एमालेकै छोराछोरी बालेनको साइबर ग्रुपमा गएर सरकारको विरोध गर्दैछन् : पृथ्वीसुब्बा गुरुङ

नेपालब्रिटेन संवाददाता
१६ कार्तिक २०८१, शुक्रबार ०६:०५

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले एमाले नेता कार्यकर्ताकै छोराछोरीले रवि लामिछाने र बालेन शाहलाई समर्थन गरिरहेको बताएका छन् ।

बिहीबार एमालेको बागमती प्रदेश सम्पर्क कमिटीले आयोजना गरेको देउसी भैलो कार्यक्रममा एमाले उपमहासचिवसमेत रहेका गुरुङले एमालेकै नेताका छोराछोरी रवि लामिछानेको पछि लागिरहेको बताएका हुन् ।

‘हाम्रा छोराहरू, हाम्रा छोरीहरू रवि लामिछानेको पछि लागिरहेका छन् । हाम्रा छोराछोरी बालेनको साइबर ग्रुपमा छन्, अनि हाम्रो पार्टीको विरुद्धमा, प्रधानमन्त्रीको विरुद्ध लेखिरहेका छन्, त्यसमा हाम्रो ध्यान गएको छ ?’ उनले प्रश्न गरे ।

अहिलेका विद्यार्थीमध्ये २० देखि २५ प्रतिशत मात्र राजनीतिमा रहेको भन्दै मन्त्री गुरुङले उनीहरू नै अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारीहरूमा बाँडिएको बताए । ‘७० देखि ७५ प्रतिशत विद्यार्थी राजनीतिमा छैनन्, उनीहरू रास्वपा र बालेनजस्ताको सेना भइरहेका छन्’, उनले भने ।

एमालेले देशभरका छोराछोरी अखिलमा र युवा संघमा होस् भने पनि उनीहरू कहाँ छन् भन्ने पार्टीका नेता कार्यकर्तालाई थाहै नभएको नेता गुरुङको भनाइ छ ।

‘देशैभरि छोराछोरी अखिलमा, युवा संघमा होस् भनेको होइन, कहाँ छन् उनीहरू ? पार्टीले बनाएको योजना हामीले कहाँ कार्यान्वयन गरेका छौँ ?’, उनले प्रश्न गरे, ‘नयाँ पुस्ता हामीसँग छैन अहिले, उनीहरूलाई विद्यार्थी, युवा अरु कुन कुन जनसंगठन छन्, त्यसमा आबद्ध गर्नुपर्‍यो ।’