काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा उन्नत अवधारणा र अभ्यास भएको बताएका छन ।
आज मंगलबार सातौँ सामाजिक सुरक्षा दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनले सरकार सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई अगाडि बढाउन, व्यवस्थित ढङ्गले सञ्चालन गर्न र त्यसलाई पूर्णता दिन प्रतिबद्ध रहेको बताएका छन ।
हरेक नागरिक सचेत हुनुपर्दछ र आफूले सामाजिक सुरक्षाको सन्दर्भमा योगदान पनि गर्नुपर्दछ भनेर आफूले योगदानमा आधारित सामाजिक सुरक्षाको एउटा नयाँ र उन्नत अवधारणाको सुरुवात गरेको उनले उल्लेख गरेका छन ।
उनले शुभकामना सन्देश दिदैँ भने, ‘सरकार सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई अगाडि बढाउन, व्यवस्थित ढङ्गले सञ्चालन गर्न र त्यसलाई पूर्णता दिन प्रतिबद्ध छ । अब कसैले अनाथ भएँ भन्नु पर्दैन । अनाथ हुनु दुःखको कुरा हो ।
तर, अब अनाथ भएर मैले अभिभावकत्व पाइन भन्ने स्थिति हुने छैन । मेरो रेखदेख गर्ने कोही छैन भन्ने अवस्था कसैको हुने छैन । मेरो सहारा कोही छैन भन्ने अवस्था पनि हुने छैन ।
त्यसका निम्ति राज्य छ र सरकार छ शुभकामना सन्देश भनिएको छ, ‘सरकारले कसैलाई पनि एक्लो र असहाय हुन दिँदैन । यस दिनको अवसरमा कसैलाई पनि एक्लो महसुस नगर्न र सरकार साथमा छ भन्ने विश्वास लिएर अगाडि बढ्न आग्रह गर्दछु ।’