लण्डन । स्वतन्त्र प्रवासी नेपाली सम्पर्क मञ्च बेल्जियमले पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेमाथि सरकारले अन्यायपूर्ण व्यवहार गरेको जनाएको छ ।
मञ्चका तर्फबाट सचिव डा. गोकर्ण पाण्डेय र कृष्ण दाहालले सोमवार एक विज्ञप्ति जारी गर्दै ‘मर्यादित र व्यवस्थित रूपमा ज्ञापन पत्र बुझाउन नसकियको स्थितिमा, हामीले शान्तिपूर्ण रूपमा प्ले कार्डमार्फत समसामयिक राजनीतिक बेतिथीका बिषय र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रति वर्तमान सरकारले गरेको अन्याय पूर्ण व्यवहार प्रति आफ्नो भावना व्यक्त गरेको’ उल्लेख छ ।
विज्ञप्तिको पूर्णपाठ
परराष्ट्रमन्त्री आरजु देउवाको युरोप भ्रमणको क्रममा उहाँ बेल्जियम आइपुगेको जानकारी प्राप्त भएको र यसै सन्दर्भमा, स्वतन्त्र प्रवासी नेपाली सम्पर्क मञ्च बेल्जियमले राजनीतिक प्रतिशोधका कारण भएको गिरफ्तारी र नागरिकको मानवअधिकारको हननको विरोधमा ज्ञापन पत्र बुझाउने उद्देश्यले नेपाली राजदूतावाससँग सम्पर्क गरेको तर, कुनै औपचारिक कार्यक्रम आयोजना नभएको जानकारी प्राप्त भएको थियो। त्यसपछि, सामाजिक सञ्जालमार्फत जन सम्पर्क समिति बेल्जियमले स्वागत तथा सम्मान कार्यक्रम आयोजना गर्ने जानकारी प्राप्त भएपछि, समितिका अध्यक्ष र जिम्मेवार व्यक्तिहरूसँग सम्पर्क गर्ने प्रयास गरियो।
यद्यपि, समय उपलब्ध नभएर वा अन्य कारणले गर्दा हाम्रो चाहनाअनुसार व्यवस्थित र प्रत्यक्ष रूपमा ज्ञापन पत्र बुझाउन सकिएन (त्यसैले बुझाउन चाहिएको ज्ञापन पत्र हामी यहाँ सार्वजनिक गर्दैछौं)।
यसै बीच, मर्यादित र व्यवस्थित रूपमा ज्ञापन पत्र बुझाउन नसकियको स्थितिमा, हामीले शान्तिपूर्ण रूपमा प्ले कार्डमार्फत समसामयिक राजनीतिक बेतिथीका बिषय र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रति वर्तमान सरकारले गरेको अन्याय पूर्ण व्यवहार प्रति आफ्नो भावना व्यक्त गरेका थियौ ।
स्वतन्त्र प्रवासी नेपाली सम्पर्क मञ्च बेल्जियम कुनै कार्यक्रम बिथोल्ने, बेल्जियमस्थित नेपाली समाजको प्रतिष्ठामा आँच पुर्याउने, वा कुनै व्यवसायमा क्षति पुर्याउने कार्यमा विश्वास गर्दैन। शान्तिपूर्वक भावना व्यक्त गर्दा त्यसको उद्देश्य कुनै व्यवसायिक क्षति पुर्याउनु थिएन र छैन। यदि सार्वजनिक स्थानमा गरिएको कार्यक्रमको फोटो वा भिडियोमा कुनै व्यवसाय देखिएको कारणले सम्बन्धित व्यवसायी र तिनका परिवारलाई असुविधा वा क्षति पुगेको छ भने, स्वतन्त्र प्रवासी नेपाली सम्पर्क मञ्च यसप्रति गहिरो दुःख व्यक्त गर्दछ।
यसै क्रममा, समाजलाई नेतृत्व गर्ने भनिरहेका केही व्यक्तिहरूले यस घटनाको मर्म नबुझी सतही रूपमा बयान दिनु र समाज लाई पक्ष(विपक्षमा विभाजित गर्ने प्रयासप्रति स्वतन्त्र प्रवासी नेपाली सम्पर्क मञ्चको गम्भीर ध्यानाकर्षण भएको छ ।
अन्त्यमा, हामी सधैं सकारात्मक र रचनात्मक दृष्टिकोणको पक्षधर छौं र बेल्जियम स्थित नेपाली समाजको हितका लागि सबै संस्था र व्यक्तिसँग सहकार्य गर्दै अघि बढ्न निरन्तर प्रतिबद्ध छौं।