१२ माघ २०८१, शनिबार
Follow Us

साउथह्याम्पटनमा नेपालीहरूले मनाए नयाँ वर्ष

नेपालब्रिटेन डट कम्
१५ पुष २०८१, सोमबार ०१:३५

लण्डन । साउथह्याम्पटनमा रहेका नेपालीहरूले अंग्रेजी नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेर नयाँ वर्षको खुशी मनाएका छन्।

साउथह्याम्पटन नेपाली सोसाइटीको सहआयोजनामा भएको कार्यक्रममा स्थानिय महिलाहरूको उत्साहजनक उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी महिलाहरूले नेपाली सांस्कृतिक परम्परालाई जगेर्ना गर्दै देउसी भैलो खेलेका थिए, जसले नयाँ वर्षको उल्लास र परम्पराको संरक्षणमा ठूलो भूमिका खेलेको थियो।

सोही अवसरमा, ‘अबको बाटो: यात्रा जिन्दगीको अपहरण’ लगायतका चर्चित पुस्तकका लेखक, सम्पादक, तथा साहित्यकार भरतकुमार श्रेष्ठ विवशु लाई स्रष्टाको रूपमा सम्मानित गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै साहित्यकार श्रेष्ठले समाजमा साहित्यको महत्व बारे प्रकाश पार्नुभयो। उहाँले आफ्नो पछिल्लो पुस्तक “अबको बाटो” मा नेपालका विभिन्न बौद्धिक व्यक्तित्वहरूको लेख समेटिएको उल्लेख गर्दै, पुस्तकका माध्यमबाट नेपालको समृद्धि र सांस्कृतिक समृद्धिको पक्षमा आवाज उठाएको बताए।

यस अवसरमा नेपाल ब्रीटेन डट कमका मल्टिमिडिया सम्पादक रमेश खनालले पनि आफ्ना विचार व्यक्त गर्दै भने, “यहाँ हुर्कदै गरेका नयाँ पुस्तालाई नेपालसँग जोड्न, नेपाली भाषा र संस्कृतिको महत्व बुझाउनु पर्छ। हामीले नयाँ पुस्तालाई आफ्नै सांस्कृतिक पहिचान र भाषा सिकाउन नसके, तिनको भविष्यमा हाम्रो इतिहास र संस्कृति हराउने खतरा रहेको छ।”

कार्यक्रममा साउथह्याम्पटनका नेपाली समुदायका सदस्यहरूको उत्साही सहभागिता देखियो, र नेपाली परम्परा र संस्कृतिको प्रचार-प्रसार गर्ने उद्देश्यका साथ यस कार्यक्रमको आयोजना गरिएको थियो।

कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतिहरू, नृत्य र संगीतका कार्यक्रमहरूले उपस्थित सबैलाई मनोरञ्जन र सद्भावको वातावरण प्रदान गरे।