१२ माघ २०८१, शनिबार
Follow Us

बेलायती सेनामा समान पेन्सन छ : बेलायती राजदूत रब फेन

नेपालब्रिटेन डट कम्
२४ पुष २०८१, बुधबार ०५:४१

भूपु गोार्खाहरुको समस्याका बारेमा गोर्खा वेलफेयर ट्रस्टले सोच्नु पर्ने

लण्डन । नेपालका लागि बेलायती राजदूत रब फेनले बेलायती सेनामा समान पेन्सन रहेको बताएका छन्।

फेनले नेपाल अनुभव, राजनीति, कूटनीति, ब्रिटिश–गोर्खा लगायतका विषयमा उकालोका लागि दिएको अन्तरवार्तामा बेलायती सेनामा हाल कुनै भेदभाव नभएको र सबै सैनिकले पेन्सन पाउने दावी गरे।

उनले भने, “यहाँ समस्या छ भन्नेमा शंका छैन। यो सानो समूहका मानिसहरूका लागि समस्या हो, जसको निवृत्तिभरण नेपालमा खर्च गर्न डिजाइन गरिए पनि अहिले बेलायतमा खर्च भइरहेको छ।”

फेनले थपे, “हाल भेदभाव छैन। ब्रिटिश सेनामा सबैले पेन्सन पाएका छन्। ‘सानो’ पेन्सन लिएर बेलायत आउन रोजेका केही व्यक्तिहरूले यहाँ उच्च मूल्यको सामना गरिरहेका छन्।”

साथै, उनले बेलायतमा धेरै मानिसहरूको आय न्यून रहेको र यस कारण कल्याणकारी राज्यको अवधारणा रहेको पनि उल्लेख गरे। “पेन्सनको मुद्दा पनि समाधान हुने छ। यस सन्दर्भमा बेलायती मन्त्री र सैन्य व्यक्तित्वहरूको प्रतिबद्धतामा मलाई कुनै शंका छैन,” उनले भने।

फेनले यो पनि स्पष्ट पारे कि पेन्सन सम्बन्धी मुद्दामा, “बेलायती सरकारले उपलब्ध गराउन नसक्ने एकमात्र कुरा विगतमा फर्केर पेन्सन प्याकेज परिवर्तन गर्नु हो। यो समस्या केवल गोर्खा सैनिकहरूको मात्र होइन, यो वित्तीय सेवाको प्रभावकारिता र कार्यक्षमता सँग सम्बन्धित कुरा हो।”

तर, उनले थपे, “तर समस्यालाई सम्बोधन गर्ने र गोर्खा सैनिकहरूलाई सम्मानजनक सेवानिवृत्ति सुनिश्चित गर्ने ठाउँ देखिन्छ। हामी सकेसम्म सहयोग गर्न तत्पर छौँ।”

फेनले गोर्खा वेलफेयर ट्रस्टको कामको पनि प्रशंसा गरे। “गोर्खा वेलफेयर ट्रस्टले नेपालमा धेरै महत्वपूर्ण काम गरेको छ। मैले धेरै गाउँ र विद्यालयको भ्रमण गरेको छु। यो एक परोपकारी संस्था हो जसले नेपालमा गोर्खा सैनिकहरूको कल्याणका लागि काम गर्दै आएको छ,” उनले भने।

“मैले एक समय गोर्खा आर्मीमा कार्यरत एक लामा पनि भेटेँ। उनी अहिले पनि ट्रस्टको सहयोगमा नियमित स्वास्थ्य जाँच गरिरहेका छन्। गोर्खा वेलफेयर ट्रस्टले निरन्तर राम्रो काम गर्दै आएको छ र यसको कामबाट गोर्खा भेटेरानहरूले फाइदा पाएका छन्। यो संस्थाले बेलायती सरकार र जनताको सहयोगबाट काम गर्दैछ,” उनले थपे।