काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) का सदस्यहरूको साढे १६ करोड रुपैयाँ बराबरको ‘सामूहिक दुर्घटना बीमा’ भएको छ । नाफिजले आफ्ना २ सय ३५ जना सदस्यहरू तथा सल्लाहाकारहरुको जनही ७ लाख रुपैयाँका दरले सामूहिक दुर्घटना बीमा गराएको हो ।
बुधबार दुईवटा निर्जीवन बीमा कम्पनी र नाफिज बीच सामूहिक दुर्घटना बीमा सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । नाफिजले सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) र सिद्धार्थ प्रिमियर इन्स्यारेन्समा २३५ जनाको सामूहिक दुर्घटना बीमा गराएको हो ।
कुल बिमांक रकम १६ करोड ४५ लाख रुपैयाँ रहेको छ । सम्झौतामा सलिकोका प्रमुख कार्यकारी अधिकृत (सिइओ) चंकी क्षेत्री, सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) वीरेन्द्रबहादुर वैदावर र नाफिजका अध्यक्ष मेनुका कार्कीले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार नाफिजका हरेक सदस्यको प्रतिव्यक्ति ७ लाखका दरले दुर्घटना बीमा भएको छ । नाफिजका अध्यक्ष मेनुका कार्कीले हरेक दिन ‘फिल्ड’मा खटिनुपर्ने पत्रकारहरू विभिन्न खालका दुर्घटनाको जोखिममा हुने भएकाले त्यस्तो जोखिम बहन गर्न आफ्ना सदस्यहरूको बीमा गराइएको बताइन् ।