लन्डन । ब्रिटिश परराष्ट्र मंत्री डेभिड ल्यामीले जलवायु परिवर्तनका असरहरु संग जुध्न ब्रिटिश सरकारले नेपाललाई सहयोग जारी राख्ने बताएका छन्।
लेबर पार्टीकी सांसद एलेक्स बेकरले सोधेको एक प्रश्नको जवाफमा परराष्ट्र मंत्री ल्यामीले बेलायत सरकारले नेपाललाई जलवायु परिवर्तनका असरसंग जुध्न तीन करोड ८५ लाख पौण्ड (झन्डै साढे ६ अरब रुपिया) सहयोग गरेको बताए। त्यस्तै उनले नेपालमा जलवायु परिवर्तनका असरलाई कम गरी विकास कार्यक्रम संचालन गर्न आगामी आठ वर्ष का लागि ५ करोड ८० लाख पौण्ड (झन्डै १० अरब रुपियाँ) सहायता दिने निर्णय भै सकेको पनि जनाए।
तत्कालिन प्रधानमन्त्री ऋषि सुनक नेतृत्वको सरकारको पालामा झन्डै १० अरब रुपियाँ सहयोगको घोषणा गरिएको थियो भने नयाँ लेबर सरकार आए पछि थप साढे ६ अरब रुपिया बराबरको सहयोग गर्ने निर्णय गरिएको थियो।
परराष्ट्र मंत्री ल्यामीले जलवायु परिवर्तनको मुद्दामा नेपालसंग बेलायतको सम्बन्ध महत्वपूर्ण रहेको पनि बताए। यस अघि गत सोमबार ब्रिटिश संसदमा आयोजित एक बैठकमा नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले भूपरिवेष्ठित र अति कम विकसित मुलुक नेपालले विश्व वातावरणीय प्रभावमा आफ्नो योगदान नभइ पनि विभिन्न चुनौति सामना गरिरहेको बताएका थिए । उनले हिमाली इकोसिस्टममा परेको प्रभावको न्यूनिकरणमा सहयोग गर्न बेलायत सरकारलाई आग्रह गरेका थिए।