काठमाण्डौं । गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष तथा उच्चस्तरीय समितिका सदस्य कुमार पन्तले संघको एकता महाधिवेशनको बारेमा आफ्नो नाम र हस्ताक्षर दुरुपयोग गरिएको भन्दै चिन्ता व्यक्त गरेका छन्।
संघका पूर्वअध्यक्ष शेष घलेलाई शनिवार एक पत्र लेख्दै पन्तले आफू संग छलफल र सल्लाह नगरिएको र प्रत्यक्ष रूपमा संलग्न नभएको विषयमा आफ्नो नाम गलत तरिकाले प्रयोग भएको भन्दै आपत्ति जनाएका हुन्।
उनले घलेलाई भविष्यमा कुनै पनि सञ्चारमा आफ्नो पूर्व सहमति बिना समावेश नगर्न आग्रह गरेका छन्। घलेलाई लेखेको पत्रमा पन्तले गैरआवासीय नेपाली संघको एकता अधिवेशनको लागि बन्ने टिओआर (कार्यदिशा) बनाउँदा सरकारको प्रतिनिधिको उपस्थितिमा तयार गरिने र उच्चस्तरीय समितिमा गम्भीर रूपमा छलफल गरिने सहमति भएको तर घलेले सो सहमति उल्लङ्घन गरेको उल्लेख गरेका छन्। उनले भने, “सरकारको प्रतिनिधिको सहभागिता बिना कार्यदिशा तयार गरियो र मेरो सहमति बिना मेरो हस्ताक्षर सहित वितरण गरिएको छ। यो आपत्तिजनक छ।”
पन्तले गैरआवासीय नेपाली संघभित्र एकता पक्षमा रहने प्रतिबद्धता व्यक्त गरेका छन्। पन्तले गैरआवासीय नेपाली संघभित्र बृहत एकताको सुनिश्चित नभए सम्म उच्चस्तरीय समितिको बैठकमा उपस्थित नहुने जनाएका छन्।
पन्तले गैरआवासीय नेपाली संघभित्रको एकताको लागि पूर्वअध्यक्ष घलेलाई गम्भीर भएर एकताको पक्षमा उभिन आग्रह गरेका छन्।