लण्डन। गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घलेको एकल निर्णयले संघको महाधिवेशन अगाडि बढेपछि उनको आलोचना सुरु भएको छ।
गैरआवासीय नेपाली संघका उपाध्यक्ष राज रेग्मीले सामाजिक सञ्जाल फेसबुकमार्फत आम सहमति बिना कुनै पनि एक पक्षलाई बाहिर राखेर जुनसुकै मितिमा हुने अधिवेशन पनि एकता ल्याउन सक्दैन भन्ने विचार व्यक्त गरेका छन्।
उनले सबैलाई आफ्नो दम्भ र अहम छोडेर एनआरएनए एक बनाउन विगतका कमजोरी र गल्तीको गहिरो समीक्षा गरेर नयाँ शिराबाट अभियानलाई एकजुट र बलियो बनाउन आग्रह गरेका छन्।
रेग्मीले संस्थालाई सबैको बनाउनका लागि थोरै वा धेरै त्याग र सहकार्य गर्दै अगाडि बढ्नुको विकल्प नभएको बताएका छन्।
यसअघि घलेले सरकारी प्रतिनिधि बिना आफ्नो मनोमानीबाट टिओआर (कार्यदिशा) अनुमोदन गरेको भन्दै संघका राष्ट्रिय समितिहरूसँग पत्राचार गरेपछि घले विवादमा तानिएका छन्।
घलेको पछिल्लो निर्णयको उच्चस्तरीय समितिका सदस्य कुमार पन्त र संघका उपमहासचिव सोम सापकोटाले समेत आलोचना गरेका छन्।