१३ चैत्र २०८१, बिहीबार
Follow Us

युक्रेनी जेलमा बसेका नेपाली भन्छन् : एनआरएनए आमा हो, भने सरकार बुवा (भिडियो)

नेपालब्रिटेन डट कम्
२७ माघ २०८१, आईतवार ००:१९

९ महिनासम्म युक्रेनी सेनाको कब्जामा रहेका दुई युवा नेपाली आज स्वदेश फर्किएका छन्।

नयाँ दिल्लीस्थित एक एजुकेसन कन्सल्टेन्सीबाट तीन महिनाको विद्यार्थी भिसामा दोलखा घर भएका ३९ वर्षीय शेर साम्बो शेर्पा र तेह्रथुमका २९ वर्षीय फुर्वा शेर्पा ९ महिनाअघि युक्रेन पुगेका थिए।

उनीहरूलाई नेपाली दूतावास जर्मनी, गैरआवासीय नेपाली संघ र युक्रेनस्थित श्रीलंकाको वाणिज्यदूतको संयुक्त पहलमा त्यहाँबाट उद्धार गरिएको हो। उनीहरूको हवाई भाडाको व्यवस्था भने गैरआवासीय नेपाली संघ (एनआरएनए) ले गरेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै दोलखाका शेर साम्बो शेर्पाले भाषा अध्ययन तथा रोजगारीको सिलसिलामा आफूहरू माल्दोवा हुँदै युक्रेन पुगेको बताए।

‘हामीलाई सुरूमा युक्रेनले ९० दिनको भिसा दिएको थियो। हामी त जान चाहेका थिएनौं। तर ख्यालख्यालमै भिसा लाग्यो अनि भारतीय कन्सल्टेन्सीले पैसा तिर्नुपर्छ भनेपछि गएका हौं,’ शेर साम्बोले भने, ‘भारतबाट दलालले पटक/पटक फोन गरेर लडाइँ भएको रूस र युक्रेनको सीमामा मात्रै हो। त्यहाँ खासै समस्या छैन भन्यो। त्यसपछि हामी कलेजको शुल्क २ लाखसहित ८ लाख तिरेर गएका हौं।’

युक्रेन पुग्दा उनीहरूसँग जम्मा ७ दिनको मात्र भिसा थियो। युनिभर्सिटीले भिसा थप्ने प्रक्रिया मिलाउने भनेर १५ सय डलर थप लिइसकेको थियो। भिसा थप्ने प्रक्रिया लम्बिएपछि उनीहरू बाहिर निस्किन थाले। त्यही बेलामा युक्रेनी सेनाको हिरासतमा पुगेको शेर साम्बोले बताए।