काठमाडौं । हेमोफिलियाका रोगीले आजीवन प्रयोग गर्नुपर्ने औषधि एन्टी हेमोफिलिक फ्याक्टर उपलब्ध गराइ नागरिकको जीवन बचाइदिन नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले सभामुख देवराज घिमिरेमार्फत सरकारसँग आग्रह गरेकी छन् । संसदको शुन्य समयमा बोल्दै सांसद गौतमले नागरिकको बाँच्न पाउने अधिकारलाई ख्याल गरी हेमोफिलिया बिरामीले निरन्तर प्रयोग गर्नुपर्ने तर नेपालमा किन्न नपाइने औषधि एन्टी हेमोफिलिक फ्याक्टर उपलब्ध गराइ नागरिकको जीवन बचाइदिन आग्रह गरेकी हुन् ।
कानुनमा समेत स्पष्ट व्यवस्था हुँदा पनि त्यसको कार्यान्वयन हुन नसक्दा जनता अकालमा ज्यान गुमाउनु पर्ने दूर्भाग्य भएको उल्लेख गर्दै सांसद गौतमले भनिन, ‘हेमोफिलिया एउटा आनुवंशिक रोग लागेको बिरामीलाई शरीरको कुनै पनि भागमा रक्तस्राव हुँदा रगत रोकिँदैन । समयमा नै उपचार नपाए बिरामीको ज्यानै समेत जान्छ । पछिल्लो २ महिनामा २ जना बिरामीको मृत्य भयो । बिरामीले निरन्तर प्रयोग गर्नुपर्ने औषधि नेपालमा किन्न पनि पाइँदैन । बाहिरबाट ल्याउनुपर्छ । पछिल्लो तथ्यांक अनुसार नेपालमा हेमोफिलियाको रोगीको संख्या ४,९३७ जना छन् ।’
अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धि ऐन,२०७४ र नियमावली,२०७७ ले समेत दश वर्गका अपाङ्गताभित्र हेमोफिलियालाई पनि एउटा वर्गमा समेटेर यो रोगका रोगीले नियमित प्रयोग गर्नुपर्ने औषधि सम्बन्धित स्थानीय तहमार्फत निःशुल्क उपलब्ध गराउन सांसद गौतमले माग गरिन् । उनले कानुनमा स्पष्ट व्यवस्था हुँदा हुँदै पनि एकातिर राज्यले औषधि उपलब्ध नगराउँदा बिरामीले असैह्य पिडा भोगिरहेका छन् भने, अर्कोतिर बिरामीको अपाङ्गता र मृत्युदर पनि बढीरहेको सांसद गौतमले बताइन् ।