१० बैशाख २०८२, बुधबार
Follow Us

कृत्रिम सम्बन्धहरू !

नेपालब्रिटेन डट कम्
१८ चैत्र २०८१, सोमबार २३:५५

प्रतिज्ञा अधिकारी ।
खासमा श्रृष्टिको सुरुवातमा महिला र पुरुषको परिकल्पना गर्नुको अर्थ महिलाले घर समाल्ने र पुरुषले जहान परिवार पाल्ने मनसायले भएको हुन सक्छ । तर, एक्काइसौँ शताब्दीमा आइपुग्दा पँुजीवाद, औद्योगीकरण, महिलावाद, उपभोक्तावाद जस्ता अनेक वादका कारण ‘अर्को जेनेरेसन’ तयार पार्ने जिम्मेवारी सँगसँगै महिलामा अरु पनि जिम्मेवारी थपियो । विवाहलाई संस्थागत गर्ने नाममा विवाह भएको दिनदेखि महिला त्यो पुरुषको ‘स्वामित्व बस्तु’ मा परिणत भयो । यस्तो हुँदा सम्बन्धमा समभाव हुने त कुरै भएन । जसले गर्दा धेरै जसो सम्बन्धहरूमा एक खालको ‘प्रतिस्पर्धा’ देखिन थाल्यो । नेपालमा यस्तो प्रतिस्पर्धा भए पनि परिवार नै विखण्डनतिर धकेल्न भने गाह्रो हुन्थ्यो । विदेश आइसकेपछि विभिन्न किसिमका स्वतन्त्रताका कारण सम्बन्धबाट छुट्टिने ठूलो कुरा भएन । महिला वा पुरुष दुवै आर्थिक रूपमा सबल हुनु, विभिन्न इच्छाहरू जाग्नु र अहंकार उत्पन्न हुनु सम्बन्धमा दरार आउने केही कारणहरूमध्ये हुन सक्छन् । अलिकति पैसा हुना साथ ‘तरुणी’ चाहिने रोग पनि विदेशमा प्रसस्त देखिन्छन् । सम्बन्धमा विचलन आउने विविध कारणमध्ये केही निम्न हुन सक्छन् ।

कृत्रिम सम्बन्धहरू
आजभोलि सोसल मिडियाका कारण मानिसहरूको रहनसहन र जीवनशैली मात्रै नभई जीवन पद्धतिमै फरकपना देखिएको छ । फोनले निर्देशित गरिरहेको छ जीवन बाच्ने तरिका । एउटाले राम्रो गाडी चढ्यो, ठूलो घर बनायो, घुम्न गयो भने अर्कालाई पनि त्यही चाहियो । सके आफूले त्यस्तै गर्‍यो नभए चिन्ता, रिस, जलन र पीडाले कुण्ठित भयो । अनि मानसिक रोग निम्तायो । मान्छे जीवन बुझ्दैन जीवनशैलीको पछि लाग्छ । समुन्द्रको छेउमा उभिएर फोटो खिच्दै गर्दा समुन्द्रमा आउने छालको बहाब बुझ्ने कोसिस नै गर्दैन । जीवन बुझ्नका लागि मात्र जीवन भए पुग्छ, जो हामी प्रत्येकसँग छ । जीवनलाई फरक ढंगले नबुझी मात्र पैसा, मान-सम्मानलगायतको पछाडि लाग्दा लाग्दै जीवनबाटै पछाडि धकेलिएको धेरैलाई पत्तै हुँदैन । सम्बन्धहरू पनि कृत्रिम देखिन्छन् । सम्बन्धका लागि माया ममता, करुणा, उत्तरदायित्व, जिम्मेवारी बोध हुनुपर्ने ठाउँमा स्वार्थ, रिस र जलन रोपेका छौँ, अनि सम्बन्ध प्रेमिल खोज्दछौँ । खोजेको कुरा नभेटिँदा मानिसले एक किसिमको खिन्नता, रिक्तता र अभाव महसुस गर्दछ । बिउ नै गलत रोपियो कि भन्ने तिर ध्यान नदिएर एक अर्कामाथि आरोप-प्रत्यारोप सुरु हुन थाल्छ । अनि स्वर्ग भनिएको घर युद्ध मैदानमा परिणत हुन्छ । यसले परिवार र सन्तानलाई असर गर्छ नै आत्महत्याको निणर्यसम्ममा पनि मानिस पुग्दछ ।

इज्जतको पिर
मान्छेलाई सामाजिक प्राणी हो भन्ने पगडी गुथाइएको छ । विवाहलाई सामाजिक बन्धन हो भनिएको छ । विवाह धुमधामले गर्ने फेसन चलेको छ । दाम्पत्य जीवन कस्तो चलेको छ भन्नेतर्फ ध्यान दिइएको छैन । पक्कै पनि सम्बन्धहरू सुदृद्ध भएको राम्रो हो । तर सम्बन्धमा दरार आएपछि एक अर्कालाई हानि नपुर्‍याई निकासको बाटो खोज्नु राम्रो हुन्छ । तर त्यस्तो हुँदैन । उसो त विवाह भएको केही वर्षमा सन्तान जन्मिन्छन् । परिवार, आफन्त र साथीभाइको संख्या पनि बढ्छ । यससँगै जोडिएको सामाजिक प्रतिष्ठा छँदैछ । अझै छुट्टिँदा भोग्नुपर्ने पीडा त छ नै । समाजले दिने पीडा थेग्न धेरै मान्छेलाई गाह्रो भएको देखिन्छ । केटी मान्छेले अग्रसर भएर बिछोडको प्रकृया अगाडि बढाएमा केटा मान्छेको यौन क्षमताको कुरा आउँछ भने केटाले छोडिदिए केटीको चरित्रमाथि समाजले धावा बोल्छ । उसो त यस्तो हुँदै नहुने भने होइन, तर समाजले यसरी हौवा फैलाउँछ मानौँ त्यो नै अन्तिम सत्य हो ।
यसरी हरेक पल मर्दै विवाहलाई बचाउनु पाप नै हो । यस्तो जिन्दगी बाँच्नु पर्दा एकातिर अहंकारमा चोट लाग्छ भने अर्कोतिर यिनीहरू पैसाले माया (यौन) किन्न उद्धत रहन्छन् । कोही यस्तैमा रुमलिन सक्छन् भने कोही थाकेर जिन्दगीबाटै बिदा लिन्छन् । समाजमा कुनै घटना भयो भने समाज न्यायाधीश बनी हाल्छ । पुरुषले गरे पनि महिलाले गरे पनि हिंसा त हिंसा नै हो । हिंसा गर्नेले सजाय पाउनु नै पर्छ ।
सिङल देख्ने बित्तिक्कै ‘यो त एक्ली छे, सजिल्लै पटिन्छे’ भन्ने दास मानसिकता भएकाहरू सिङ्ग्ल महिलालाई ‘योनी वाहक’ मात्रै ठान्दछन् । यस्ता नागाहरू हरेक गल्ली गल्लीमा भेटिन्छन् । अर्कोतर्फ केटा मान्छे अझ सामाजिक रूपमा चिनिएको छ भने उसलाई इज्जत ‘दाउ’ मा लगाएर छुट्टिन मन लाग्दैन बरु मन र ओछ्यान छुटिन्छ ।
यसरी हरेक पल मर्दै विवाहलाई बचाउनु पाप नै हो । यस्तो जिन्दगी बाँच्नु पर्दा एकातिर अहंकारमा चोट लाग्छ भने अर्कोतिर यिनीहरू पैसाले माया (यौन) किन्न उद्धत रहन्छन् । कोही यस्तैमा रुमलिन सक्छन् भने कोही थाकेर जिन्दगीबाटै बिदा लिन्छन् । समाजमा कुनै घटना भयो भने समाज न्यायाधीश बनी हाल्छ । पुरुषले गरे पनि महिलाले गरे पनि हिंसा त हिंसा नै हो । हिंसा गर्नेले सजाय पाउनु नै पर्छ ।

किन बढ्दैछ दूरी
विदेशमा श्रीमान् र श्रीमती दुवैले काम नगरी सुखै छैन । आमाको शिफ्ट बिहान हुन्छ भने बुवाको बेलुका वा भाईस भर्सा ! आमा बुवा र छोराछोरी एकै चोटि भेट हुन एक हप्ता कुर्न पर्छ । बल्ल बल्ल आएको छुट्टी पनि बिहे, भोज यस्तै यस्तैमा बित्छ । एक अर्काको सम्बन्ध मलजल गर्न पाएका नै हुँदैनन् । एउटा फोटो खिचिक्क पर्‍यो, फेसबुकमा हाल्यो । आत्मियता बिना बनेको सम्बन्ध टिकाउ हुँदैन ।
माया, प्रेम नरोपी प्रगाढ सम्बन्धको आशा गर्नु बालुवा पेलेर तेल निकाल्न गरिएको प्रयास जस्तै निरर्थक हुन्छ । सद्भाव, सहभाव र समभाव बिनाको कुनै पनि सम्बन्ध सम्भव नै छैन । यही कुराले नै हो बाँच्न सिकाउने । जीवनको लक्ष्य र उपादेयता नबुझेर दिशाविहीन भई अलमलिएकाहरूलाई चेतना, विवेक र बुद्धिको संयोजनद्वारा जीवन जिउने कला सिकाउने अध्यात्म हो । तर, अध्यात्मलाई धेरैले आत्मसात गरेको भेटिँदैन ।
अझ यस्ता कुरा अलि उमेर ढल्केपछि ध्यान दिने हो भन्ने धेरै मानिसको बुझाइ छ । जसरी जग बिना घर बन्दैन त्यसरी नै जीवनको यथार्थ नबुझिकन जीवन सफल हुने कुरै भएन । हामीलाई कुनै पनि किसिमको शिक्षा वा ज्ञान चाहियो भने सूचनामूलक शिक्षा सजिलै उपलब्ध हुन्छ । तर, आध्यात्मिक ज्ञान लिने ठाउँ छैन वा ध्यान दिइएको देखिँदैन ।

मिसन रिलेसन
यो संसार आधुनिकीकरणको चपेटामा नराम्ररी परेको छ । आफ्ना घरभित्रको सम्बन्धमा अलिकलि फाटो आयो भने त्यो दूरी घटाउनभन्दा ‘विकल्प’ खोज्न मान्छे उद्धत भएको देखिन्छ । जति विकसित मुलुकमा बसे पनि घरको चुल्हो-चौको महिलाकै भरमा हुन्छ । दिनभरि सँगै उस्तै प्रकृतिको काम गरेर घर आएपछि सोफामा पल्टेर रिमोट घुमाउने सुविधा पुरुष र महिलालाई बराबर रूपमा उपलब्ध हुँदैन । काम, घरको चुल्हो-चौको अनि छोराछोरीको होमवोर्क र अरु गृहकार्य सकेपछि थकित महिला ओछ्यानमा जाँदा उनीसँग एनर्जी नै सकी सकिएको हुन्छ । सम्बन्ध टिकाइ राख्न वा सफल दाम्पत्य जीवनको कडीमा यौन जोडिन्छ नै । जब पुरुष आफूले भने जस्तो तृप्ति पाउँदैन तब बाहिर भौँतारिएको देखिन्छ । महिलाको हकमा यो हुँदै नहुने भने होइन, तर सम्भावना कम रहन्छ विभिन्न सामाजिक परिवेशका कारण । केही समयपछि सम्बन्ध अनि लेनदेनमा गडबडी हुन्छ । अनि छताछुल्ल हुन्छ भिडियोहरू । यति बेलासम्म ढिला भइसकेको हुन्छ । कसैको प्रब्लम सल्भिङ स्किल राम्रो हुन्छ अनि यस्तो परिस्थितिलाई सेफ ल्यान्डिङ गर्छन् । कोही भने आत्महत्या ।

आइडेन्टी क्र्राइसिस
विदेशमा सुख खोज्न आउने क्रम बढ्दो छ । यो क्रममा नेपालमा राम्रै करियर भएका मान्छेहरू पनि विदेश आएका छन् । यहाँ आएपछि जे काम भेटिन्छ त्यही गर्नुपर्ने बाध्यता छ । यस्तोमा महिलाहरू चाहिँ अलि छिटो परिस्थितिलाई अड्याप्ट गर्न सक्दा रहेछन् । पुरुषलाई भने हिनताबोधले गाज्दो रहेछ । फलस्वरूप, रिसाउने, आफ्नै श्रीमतीलाई विश्वाश नगर्ने, कुटपिट गर्ने लक्षणहरू देखापर्ने रहेछन् । कतिलाई त डिप्रेसन नै हुने रहेछ । यस्तो अवस्थामा श्रीमान् श्रीमतीले एक अर्कालाई बुझ्न जरुरी हुन्छ । तर, यस्तो भएको देखिँदैन । अन्धकारले डेरा जमाइसकेको हुन्छ । सम्बन्धमा समभावको सट्टा समदूरी उत्पन्न भएर दुर्घटना भएको पनि हामीले देखेका छौँ ।

अन्त्यमा एउटा सम्बन्ध राम्रो भए घर राम्रो हुन्छ र घर राम्रो भए समाज । त्यसका लागि हामी हाम्रो सोचाइ अनि मानसिकतामा व्यापक परिवर्तन ल्याउनुपर्ने हुन्छ । सर्टिफिकेटका भारी बोकेका तर विवेक शून्यहरू, धनी पनि यति धनी जोसँग धन बाहेक केही छैन वा जीवनशैलीको पछाडि लाग्ने तर जीवनमा जिवन्तता नभएका अनि मानवीय मूल्य र मान्यतामा चुकेकाहरूलाई हामीले वाहवाही गर्न छोडेर गरिब नै किन नहोस सत्यको बाटो लागेकालाई सम्मान गर्न सिकौँ समाज आफैँ परिष्कृत हुन्छ ।