लन्डन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूलाई पार्टीको महाधिवेशन तयारीमा जुट्न निर्देशन दिएका छन्।
यसै सन्दर्भमा, महामन्त्री थापाले नेपाली जनसम्पर्क समिति वेलायतका सभापति युवराज गुरुङसँग भेट गर्दै आगामी अधिवेशनका लागि आवश्यक तयारीमा जुट्न आग्रह गरेका हुन्। शुक्रबार भएको सो भेटमा थापाले पार्टीको हालैको निर्णयअनुसार जनसम्पर्क समितिहरूलाई व्यवस्थित गर्दै अघि बढ्नुपर्ने उल्लेख गरे।
“अब पार्टीभित्र विवाद गरेर बस्ने समय छैन,” थापाले भने, “विदेशमा रहेका जनसम्पर्क समितिहरूलाई एउटै प्रणालीमा ल्याउने निर्णय भएको छ, र सबैले त्यसअनुसार काम अघि बढाउनुपर्छ।”
महामन्त्री थापाले सभापति गुरुङलाई पार्टीभित्र उनको नेतृत्वलाई लिएर कुनै अन्योल वा विवाद नरहेको स्पष्ट गर्दै तत्काल क्रियाशील सदस्यता वितरणको कार्य प्रारम्भ गर्न निर्देशन दिएका थिए।
भेटका क्रममा सभापति गुरुङले वेलायतमा सम्पन्न पछिल्लो अधिवेशन, समितिभित्रको आन्तरिक सहमति सम्बन्धमा महामन्त्री थापालाई जानकारी गराएका थिए। उक्त भेटमा नेपाली जनसम्पर्क समिति बेल्जियमका सभापति शुभाष गुरुङसहित अन्य नेताहरूको पनि उपस्थिति रहेको थियो।