१ असार २०८२, आईतवार
Follow Us

बेलायतमा ‘नेपाली ओपन कन्सर्ट’ को तयारी अन्तिम चरणमा, ५ हजार दर्शकको उपस्थिति रहने

नेपालब्रिटेन संवाददाता
७ जेष्ठ २०८२, बुधबार १९:०१

लन्डन । बेलायतमा आयोजना हुन गइरहेको १७ औँ नेपाली ओपन कन्सर्टको तयारी अन्तिम चरणमा पुगेको छ। मगर संघ यूकेको आयोजनामा यही आउँदो १४ जुनका दिन फानबोरोस्थित रग्बी क्लबमा भव्य कन्सर्टको आयोजना गरिने भएको हो। बुधवार साँझ आयोजित एक भर्चुअल पत्रकार सम्मेलनमार्फत मगर संघ यूकेले कार्यक्रमको विस्तृत जानकारी सार्वजनिक गरेको हो।

संघका अध्यक्ष लालबहादुर पुन (लालु) का अनुसार कन्सर्टमा नेपालका चर्चित राष्ट्रिय कलाकारहरू अन्जु पन्त, खेम सेन्चुरी, विजय खाडामगर लगायतले विशेष सांगीतिक प्रस्तुति दिनेछन्। कार्यक्रम बिहान ११ बजे सुरु भएर राति ८ बजेसम्म सञ्चालन हुनेछ। कन्सर्टलाई भव्य बनाउन मगर संघ यूकेका १२ वटा शाखाहरू सक्रिय रूपमा परिचालित गरिएको प्रमुख संयोजक तथा वरिष्ठ उपाध्यक्ष रुद्र थापाले जानकारी दिए।

बेलायतका लागि नेपाली राजदूत चन्द्र घिमिरेको प्रमुख आतिथ्य रहने उक्त कार्यक्रममा करिब ५ हजार दर्शकको उपस्थिति रहने अपेक्षा गरिएको छ। आयोजकले ३ सय विशिष्ट अतिथि सहभागी हुने अनुमान गरेको छ।

कन्सर्टमा सहभागिताका लागि अग्रिम टिकट दर एडल्टका लागि £२५ र गेटमा £३० तोकिएको छ। बालबालिका तथा ज्येष्ठ नागरिकका लागि अग्रिममा £२० र गेटमा £२५ पर्नेछ भने १२ वर्ष मुनिका बालबालिकालाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। पत्रकार सम्मेलनमा अध्यक्ष पुनसहित मगर संघ यूकेका पदाधिकारीहरूको बाक्लो उपस्थिति रहेको थियो।