लन्डन । गत बिहीबार (मे ३१) मा गोविन्द साह ‘आज़ाद’ को नयाँ कला स्टुडियोको उद्घाटन गरिएको छ।
राम्सगेटस्थित म्यान्सटन व्यवसायिक पार्कमा आयोजित एक समारोहमा बेलायतका लागि नेपालका राजदूत चन्द्रकुमार घिमिरेले नयाँ स्टुडियोको
उद्घाटन गरे । उनले नेपाल र बेलायत बीच विशिष्ट खालको सम्बन्ध रहेको बताउंदै गोविन्द साह जस्ता कलाकारहरुले दुवै देश बीच जनस्तरको सम्बन्ध अरु सुदृढ़ बनाउन उल्लेख्य योगदान गरिरहेको जनाए। उनले गोविन्द साहले समकालीन कलामा उनले पुर्याएको योगदानको प्रशंसा गरे ।
साहको कलात्मक यात्रा राजविराजबाट सुरु भएको थियो, जहाँ बाल्यकालदेखि नै उनको कलाप्रतिको लगाव प्रकट भएको थियो। दिल्लीमा साइन पेन्टिङ गर्दै सीप बढाएपछि उनले काठमाडौंको फाइन आर्ट कलेजमा औपचारिक कलाशिक्षा लिएका थिए। कलाप्रतिको उनको समर्पणले उनलाई अध्ययनको लागि ढाका पुर्यायो, अनि त्यसपछि लन्डन, जहाँ उनले सन् २००८ मा फाइन आर्टमा एमए उपाधि प्राप्त गरे।
लन्डनको अक्टोबर ग्यालरीमा साहले “Transcriptions” (२०११), “Lightness of Being” (२०१३), र “Boundless Possibilities” (२०१६) जस्ता थुप्रै एकल प्रदर्शनीहरू आयोजना गरेका छन्। उनको पछिल्लो प्रदर्शनी “Absent Presence” सन् २०२२ को डिसेम्बर १ देखि २०२३ को जनवरी २८ सम्म चल्यो, जसमा तेल र एक्रेलिकबाट लिनन र क्यानभासमा बनाइएका स-साना र ठूला चित्रहरू समावेश थिए। यी कलाकृतिहरूमा साहको आफ्नै परिवेशप्रतिको समझदारी र वास्तविकताको प्रकृतिबारे गहिरो दार्शनिक चिन्तन झल्किन्छ।
मार्गेट सरेपछि साहले त्यहाँको तटीय भू–दृश्यबाट प्रेरणा लिएका छन्, जुन प्रसिद्ध कलाकार जे.एम.डब्लु. टर्नरको प्रकाश र प्रकृतिप्रतिको मोहसँग मिल्दोजुल्दो देखिन्छ। उनको पछिल्लो चित्रकला “Mountain to Margate (Sea)” (२०२४) मा नेपाली पहिचान र केन्टको समुन्द्री वातावरणको संयोजन पाइन्छ।
साहको कला यात्रालाई उनके आध्यात्मिक र दार्शनिक यात्राको रूपमा पनि हेर्न सकिन्छ। सहभागीहरूले पूर्व र पश्चिमको कलात्मक परम्परालाई जोड्न सक्ने साहको क्षमता र उनका कलाकृतिहरूले सार्वभौमिक रुपमा प्रभाव पार्न सक्ने विशेषताको प्रशंसा गरे।
गोविन्द साह ‘आज़ाद’ का आगामी प्रदर्शनी सन् २०२५ को नोभेम्बरमा अक्टोबर ग्यालरीमा हुने छ।