अध्यक्ष लोक बहादुर पुनले समयमै तयारीमा जुट्न आग्रह
पेरिस, फ्रान्स – गैरआवासीय नेपाली संघ (एनआरएनए) फ्रान्सको ११औं महाधिवेशन आगामी १३ जुलाई २०२५, आइतबारका दिन सम्पन्न हुने भएको छ। निर्वाचनको तयारीलाई तीव्रता दिइएको अध्यक्ष लोक बहादुर पुनले जानकारी गराएका छन्।
उनका अनुसार महाधिवेशनको स्थल र समयसम्बन्धी विस्तृत विवरण केही दिनभित्र अर्को सूचनामार्फत सार्वजनिक गरिनेछ। “निर्वाचन लोकतान्त्रिक प्रक्रियाको एउटा महत्वपूर्ण अभ्यास हो। त्यसैले सबै सदस्यहरूले सक्रिय सहभागिता जनाउनुपर्नेछ,” अध्यक्ष पुनले भने।
महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जनाउँदै अध्यक्ष पुनले सदस्यता लिन बाँकी रहेका नेपालीहरूलाई तुरुन्त पंजीकृत सदस्यता लिन आह्वान गरेका छन्। “अब केही दिनमै सदस्यता बन्द गरिने भएकाले, जो जो सदस्यता लिन बाँकी हुनुहुन्छ, तुरुन्त सम्पर्क गरी सदस्यता लिनुहोला,” उनले आग्रह गरे।
एनआरएनए फ्रान्सको निर्वाचनले नयाँ नेतृत्व चयन गर्दै संस्थालाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।