टोरन्टो। गैर आवासीय नेपाली संघ (एनआरएनए) क्यानाडाले २०२५–२०२७ कार्यकालका लागि हालसम्मकै सबैभन्दा धेरै सदस्यता आवेदन प्राप्त गरेको जनाएको छ।
संघका अनुसार, हालसम्म क्यानाडाभरबाट प्रमाणित र अप्रमाणित गरी कुल ६ हजार ५१५ जनाले सदस्यता लिएका छन्। अघिल्लो २०२३–२०२५ कार्यकालमा करिब ४ हजार १ सय सदस्य मात्र थिए।
संस्थाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यो उपलब्धि केवल संख्यात्मक वृद्धि होइन, यसले क्यानाडाभरि रहेका नेपालीहरूको एकता, समर्पण र सामूहिक सोचलाई झल्काउँछ। यसले तटदेखि तटसम्म हाम्रो समुदायबीचको सम्बन्ध सुदृढ बनाएको छ।”
प्रान्तअनुसार सदस्य संख्या
सदस्य संख्या अनुसार अन्टारियो प्रान्तबाट सबैभन्दा धेरै ३ हजार ८८३ जनाले सदस्यता लिएका छन्। त्यसपछि अल्बर्टाबाट १ हजार ७१४, ब्रिटिश कोलम्बियाबाट ३८७, सास्काचेवानबाट १३१, नोभा स्कोटियाबाट १०४, क्युबेकबाट ९४, न्यू ब्रन्सविकबाट ९२, मेनिटोबाबाट ७७ जनाले सदस्यता लिएका छन्।
कम सदस्यता भएका प्रान्तहरूमा प्रिन्स एडवार्ड आइल्यान्डमा २१, न्यूफाउन्डल्याण्ड र ल्याब्राडोरमा ८, युकोन र नर्थवेस्ट टेरिटोरीमा २–२ जनाले सदस्यता लिएका छन्।
संस्थाको भेरिफिकेसन टिमले सबै आवेदकहरूको योग्यता परीक्षण गरी अन्तिम सूची सार्वजनिक गर्ने जनाएको छ।
वृद्धि भएको सदस्य संख्याप्रति आभार
संस्थाले सबै आवेदकप्रति आभार प्रकट गर्दै भनेको छ, “तपाईंहरूको साथले हामीलाई क्यानाडा र विदेशमा रहेका नेपालीहरूको उत्थान, सहयोग र हितका लागि अझ सशक्त बनाएको छ। हामी मिलेर अहिले, भोलि र भविष्यका पुस्ताहरूका लागि शक्ति र सम्बन्धको समृद्ध विरासत निर्माण गरिरहेका छौं।”
सदस्यता प्रति देखिएको व्यापक उत्साहसँगै आगामी निर्वाचनका लागि उम्मेदवारी घोषणासमेत भइरहेका छन्। सदस्य संख्या वृद्धि भएपछि संस्थाका शुभेच्छुकहरूबाट सकारात्मक प्रतिक्रिया आइरहेको छ।
एनआरएनए क्यानाडाको आगामी निर्वाचन २०२५–२०२७ कार्यकालका लागि आगामी महिनाको अन्त्यतिर हुने बताइएको छ।