लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको इतिहासमा पहिलोपटक १०० वर्ष उमेर पुगेका व्यक्तिले सदस्यता लिएर जेष्ठ सदस्यको रूपमा आफुलाई स्थापित गरेका छन्।
स्कटल्याण्डमा बसोबास गर्ने बीर बहादुर महर्जनले एनआरएनए यूकेको सदस्यता लिएर संघकै सबैभन्दा जेष्ठ सदस्य बन्नुभएको हो। उहाँ आगामी अगष्ट महिनामा १०० वर्ष पूरा गर्न लागिरहनुभएको छ।
एनआरएनए यूकेका उपाध्यक्ष मनिष खत्रीका अनुसार महर्जनको सक्रियता र समर्पणले सम्पूर्ण प्रवासी नेपाली समाजलाई प्रेरणा दिएको छ।
यसपटकको सदस्यता दर्ताको अन्तिम मिति बुधबार साँझसम्म ३ हजार ५ सय १६ जनाले आवेदन दिएका छन् भने थप ७ सय ३० जनाको नाम प्रारम्भिक ड्राफ्ट सूचीमा रहेको एनआरएनए यूकेले जनाएको छ।
संघको नयाँ नेतृत्व चयन गर्न आगामी जुलाई अन्त्यतिर निर्वाचन प्रक्रिया सञ्चालन हुने तय भएको छ।
महर्जनको सदस्यताले एनआरएनए यूकेमा उमेरको सीमा नभई योगदानको मूल्य हुन्छ भन्ने सन्देश दिएको छ।