काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएको छ । सोमबारदेखि शुरु भएको बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी रहेको छ । मंगलबार केन्द्रीय सदस्यहरूले केपी ओली नेतृत्वको सरकारको काम प्रभावकारी हुन नसकेको बताएका छन् । उनीहरुले कांग्रेस र एमालेबिचको सात बुँदे सहमति अनुसार सरकार अघि बढ्न नसकेको भन्दै गुनासो गरेका हुन् ।
कांग्रेसकै समर्थनमा ओलीको नेतृत्वमा सरकार गठन भए पनि त्यसको प्रभावकारिताका विषयमा प्रश्न उठाउँदै सदस्यहरूले पार्टीका तर्फबाट सहभागी मन्त्रीका काममा पनि प्रश्न गरेका छन् । सत्ता गठबन्धनभित्र कांग्रेसको पहिचान कम देखिएको नेताहरुको भनाइ छ ।
देउवा निकट केन्द्रीय सदस्यहरुले भने कांग्रेसको समर्थनमा निर्माण भएको वर्तमान गठबन्धनको विकल्प खोज्न नहुने तर्क गर्दै त्यो पार्टीका लागि नै प्रत्युत्पादक हुने बताएका छन । सदनमा र बाहिर पार्टीका नेताहरू छाडा भएकाले नियन्त्रण गर्नुपर्ने धारणा पनि नेताहरुको छ ।
बागमती प्रदेशको बजेट छाडा रूपमा आएको धारणा राख्दै उनले यसलाई कसरी ठिक बाटोमा लैजाने भन्नेमा पार्टीले एउटा संयन्त्र बनाउनुपर्ने प्रस्ताव समेत आएको छ । पार्टीको १५औं महाधिवेशनको मिति तत्काल तोक्न माग पनि उठेको छ ।
भ्रातृ संगठनहरूको महाधिवेशन तुरुन्तै गर्नुपर्ने र सोहीअनुसार पार्टीले निर्णय लिनुपर्ने पनि केन्द्रीय सदस्यहरुको भनाइ छ ।