मकवानपुर- बागमती प्रदेश सरकार र प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूबीच आठ बुँदे सहमति भएपछि प्रदेशसभा सञ्चालनमा आएको छ । आगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथि देखिएका कमजोरी र विवाद समाधान गर्ने सहमतिसँगै बिहीबार साँझबाट बैठक सुचारु भएको हो ।
सर्वदलीय बैठकले सहमति गरेका आठ बुँदामा बजेटका नीतिगत त्रुटिहरू सच्याउने, अपारदर्शी तथा अनधिकृत कार्यक्रमहरू हटाउने, बहुवर्षीय आयोजनामा अपुग रकम व्यवस्थापन गर्ने, र आगामी बजेट निर्माण प्रक्रियामा सबै दलको सहभागिता सुनिश्चित गर्ने जस्ता विषय समेटिएका छन् ।
साथै, गैरसरकारी संस्थाहरूलाई दिइने अनुदान कटौती गर्ने, नामै उल्लेख गरिएका संस्थाका कार्यक्रम कार्यान्वयन नगर्ने, तथा विषयगत मन्त्रालयअनुसार मात्रै कार्यक्रम अघि बढाउने निर्णय भएको छ ।
सहमतिको ८ मुख्य बुँदा
१. प्रदेशसभामा प्रस्तुत भएको विनियोजन विधेयकमा देखिएका नीतिगत त्रुटिहरू आवश्यक परिमार्जन गर्ने ।
२. बहुवर्षीय आयोजनाहरूमा अपुग बजेटको व्यवस्था गरेर कार्यान्वयन सुनिश्चित गर्ने ।
३. गैरसरकारी, प्रा.लि. तथा सामाजिक संस्थाहरूलाई विनियोजन भएको चालू खर्च मार्फत् दिइने अनुदान रकम कटौती गर्ने ।
४. नामै उल्लेख गरेर बजेट तथा कार्यक्रम प्रस्तूत भएको गैर सरकारी, प्रालि र सामाजिक संघ संस्थाहरूका चालू अनुदानका कार्यक्रमहरू कार्यान्वयन नगर्ने ।
५. एक विषयगत मन्त्रालयसँग सम्बन्धित विषयवस्तु सम्बन्धित मन्त्रालयमार्फत मात्र कार्यान्वयन गर्ने ।
६. अनधिकृत रूपमा समावेश कार्यक्रमहरू अध्ययनपछि मात्र कार्यान्वयन गर्ने ।
७. प्रदेश सरकारले नीतिगत सुधारका लागि संकल्प प्रस्ताव प्रदेशसभामा पेश गर्ने ।
८. आगामी आर्थिक वर्षमा बजेट निर्माणअघि सबै दलहरूसँग छलफल, परामर्श र सहकार्य मार्फत् नीति निर्माण तय गरेर बजेट निर्माण गर्ने ।
सहमतीपछि बिहीबार साँझ अबेरमा प्रदेश सभा बैठक सुरु भयो । बिहीबारको बैठकमा मुख्यमन्त्री बहादुर सिंह लामा र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जमकट्टेलले समय माग गरेर संसदमा धारणा राख्नुभएको थियो ।
नेता जमकट्टेलले बजेटमा गम्भीर सैद्धान्तिक र नीतिगत विचलन देखिएको बताउनुभयो । बजेटले आशा दिनेभन्दा पनि निराशा दिएको, घाटा बढाइएको, र विज्ञहरूसँग परामर्श नगरी नीति बनाइएको भन्दै उहाँले आपत्ति जनाउनुभयो ।
मुख्यमन्त्री शालिकराम बहादुर सिंह लामाले प्रतिपक्षीको सुझावप्रति सरकार गम्भीर रहेको बताउनुभयो । सदन भित्र र बाहिर उठेका सबै आवाजलाई ग्रहण गरी आवश्यक नीतिगत सुधारका लागि सरकार तयार रहेको बताउनुभयो । बजेटमा सबैको सुझाव समेट्दै प्रदेशको समृद्धिका लागि अगाडि बढ्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।
यसैबीच, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बिहीबारको बैठक बहिष्कार गरेको छ । बजेटमा अत्यधिक त्रुटि, अनियमितता तथा असमानुपातिक वितरण भएको आरोप लगाउँदै राप्रपाले संसद बैठकको वहिष्कार गरेको हो । प्रदेश सभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि सांसदहरुले धारणा राख्नेछन् ।