लण्डन । बेलायतको नेपाली समुदायमा धार्मिक अनुष्ठान सञ्चालन गर्दै आएका नेपाली पुरोहितहरू अब औपचारिक रूपमा संगठित हुने भएका छन्। शनिबार लण्डनको नर्थोल पार्कमा आयोजित भेलामा करिब दुई दर्जन पुरोहितहरूले धार्मिक तथा सांस्कृतिक गतिविधिहरूलाई एकीकृत रूपमा सञ्चालन गर्ने निर्णय गरेका हुन्।
भेलामा सहभागी पण्डित चिरन्जीबी ढकालका अनुसार बेलायतमा हुर्किरहेको दोस्रो पुस्तासम्म नेपाली धर्म–संस्कृति र परम्परा जोगाउने विषयमा विशेष छलफल भयो। “धेरैजसो नेपालीहरूले यहाँ धार्मिक कार्य गर्न सजिलो नभएको गुनासो गरेका छन्। कतिपयले त अनलाइनमै पूजापाठ गर्नुपरेको अवस्था छ। अब हामी सबै ठाउँ पुग्ने गरी सेवा विस्तार गर्नेछौं,” ढकालले बताए।
सन् १९८८ मा बेलायतमा पहिलोपटक पुरोहितको रूपमा धार्मिक सेवा सुरु गरेका ढकालले समुदायमा पुरोहितहरूको अभावका कारण देखिएका चुनौतीहरूबारे अनुभव सुनाए। उनले सबैको पहुँच हुने गरी धार्मिक अनुष्ठान गर्ने, पारदर्शिता कायम गर्ने र जनहितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
भेलामा म्यान्चेस्टर, बर्मिङ्घम, स्कटल्यान्ड, अल्डरशट, वेस्ट लण्डनलगायत यूकेका विभिन्न शहरहरूबाट २२ जना पुरोहितहरूको सहभागिता रहेको थियो। सहभागीहरूले परम्परागत अनुष्ठानमा रहेका केही रुढीवादी अभ्यासलाई परिष्कृत गर्दै समकालीन आवश्यकतासहित अघि बढ्ने सहमति पनि गरेका छन्।
भेलाको आयोजना पुरोहित संघ यूकेले गरेको थियो। संघका पदाधिकारीहरूले बेलायतभर करिब तीन दर्जनजति नेपाली पुरोहित सक्रिय रहेको अनुमान सुनाए। संघले पुरोहितहरूको क्षमता अभिवृद्धि, तालिम तथा सहकार्य विस्तार गर्दै समुदायलाई अझ राम्रो सेवा दिने योजना बनाएको जनाएको छ।