२५ असार २०८२, बुधबार
Follow Us

शेखर समूहका दर्जन नेता कार्यकर्तामाथि अनुशासनको कारबाही

नेपालब्रिटेन संवाददाता
२५ असार २०८२, बुधबार १२:४५

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका आधिकारिक उम्मेदवारविरुद्ध अन्तरघात गर्ने दर्जन बढी नेता कार्यकर्तालाई अनुशासन कारबाही गरेको छ । कारबाहीमा पर्नेहरुमा प्रदेश महामन्त्रीदेखि क्रियाशील सदस्यसम्म छन् ।

लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल, खोटाङ जिल्ला सभापति विष्णुकुमार राई, तेह्रथुमका महासमिति सदस्य एवम् पूर्वमन्त्री तुलसी सुब्बा, कास्कीका महासमिति सदस्य एवम् पूर्वमन्त्री कुमार खड्का, पर्सा–१ का क्षेत्रीय सभापति अरविन्द गुप्ता, धनुषा लक्ष्मीनिया गाउँपालिकाका सभापति आनन्द गुप्तालाई प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार हराउन लागेको आरोपमा कारबाही गरिएको छ । उनीहरु सबैलाई साधारण सदस्य एक वर्षसम्म नरहने गरी कारबाही गरिएको छ ।

धनुषाको सबेला नगरसभापति खटरु यादव, धनुषा नपा–१ का रामबाबु यादव र मुखियापटीका मुसहर मियाँका सभापति फुलगेन यादव, कास्की–२ का क्षेत्रीय सहसचिव भावना श्रेष्ठ, धनगढीका महाधिवेशन प्रतिनिधि भीमबहादुर शाह, कैलालीका निवर्तमान सचिव पूर्णकुमार कुँवर, पूर्वमहासमिति सदस्य आनन्दराज जोशी, धनगढी उपमहानगरपालिका–२ का क्षेत्रीय प्रतिनिधि रविन्द्र प्रताप सिंह, क्रियाशील सदस्य लेखराज ओझा, सुवास चन्द, पूर्व महाधिवेशन प्रतिनिधि बब्लुकुमार चौधरीले प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा आधारिक उम्मेदवारलाई असहयोग गरे आरोपमा ६ महिना पार्टीसमेत नरहने गरी कारबाही गरिएको पार्टी अनुशासन समिति संयोजक आनन्दप्रसाद ढुंगानाले जानकारी दिए ।

यसैगरी समितिले नेपाल कांग्रेस कास्कीका निवर्तमान सभापति कृष्ण केसीलाई ३ महिनाका लागि साधरण सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको छ । स्पष्टिकरण चित्ता बुझ्दो नदेखिएकाले उनीहरुलाई उपलब्ध प्रमाणका आधारमा कारबाही गरिएको अनुशासन समितिले जनाएको छ । कारबाहीमा परेका अधिकांश शेखर समूहका हुन् ।

धेरै पढिएको