काठमाडौं । बेलायतका पूर्वप्रधानमन्त्री ऋषि सुनक अमेरिकी बहुराष्ट्रिय बैंक गोल्डम्यान स्यासमा नियुक्त भएका छन् । सुनकलाई बैंकले आफ्नो वरिष्ठ सल्लाहकारमा नियुक्त गरेको बीबीसीले जनाएको छ ।
भारतीय मूलका ऋषि सुनकले बेलायतको प्रधानमन्त्री हुनुअघि पनि गोल्डम्यान स्यासमा काम गरेका थिए ।
गोल्डम्यान स्यासका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डेभिड सोलोमनले विज्ञप्ति निकालेर सुनकले विश्वभरका आफ्ना ग्राहकहरूलाई महत्त्वपूर्ण विषयहरूमा सल्लाह दिने, उनको अद्वितीय दृष्टिकोण र समष्टिगत आर्थिक तथा भूराजनीतिक परिदृश्यमा आधारित दृष्टिकोण साझा गर्ने बताएका छन् ।
सुनक सन् २०२२ को अक्टोबरदेखि सन् २०२४ को जुलाइसम्म बेलायतको प्रधानमन्त्री बनेका थिए । गएको वर्ष केयर स्टारमरको लेबर पार्टीसँग हार बेहोरेपछि सुनकले प्रधानमन्त्री र कन्जर्भेटिभ पार्टीको नेता पदबाट राजीनामा दिएका हुन् ।