ताजा खबर

पाँच पेट्रोल पम्प तथा उद्योगलाई मुद्दा दायर

काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल कार्यालयले पाँच पेट्रोल पम्प तथा उद्योगविरुद्ध मुद्दा दर्ता गरेको छ।

कार्यालयले चालू आर्थिक वर्षमा नेपाल गुणस्तर तथा नापतौलको मापदण्ड विपरीत सञ्चालित पेट्रोल पम्प तथा उद्योगलाई मुद्दा दर्ता गरेको हो।

कार्यालयले मैतीदेवी पेट्रोलियम सप्लायर्स मैतीदेवी, चुच्चेपाटी फ्युल सेन्टर चाबहिल, भद्रकाली आयल स्टोर गोठाटार, न्यू बङ्गलामुखी आयल स्टोर्स सानोभर्याङ र माः पलाञ्चोक धन्द्रे भीमसेन बेकरी उद्योग काभ्रेपलाञ्चोकविरुद्ध मुद्दा चलाएको हो।

कार्यालयका प्रमुख एवं उपसचिव राकेशकुमार झाले नापतौलको मापदण्ड विपरीत सञ्चालन भएकाले कारवाहीका लागि मुद्दा दायर गरेको जानकारी दिए।

‘कार्यालयले अनुगमनका क्रममा मापदण्ड विपरीत पेट्रोल पम्प तथा उद्योग सञ्चालन गरेकाले जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेका हौँ’, उनले भने, ‘मैतीदेवी र चुच्चेपाटी आयल स्टोर्सले नापतौल कार्यालयले लगाएको सिल तोडेर नक्कली सिल लगाएको, भद्रकाली आयल स्टोर्सले मापदण्डभन्दा घटी परिणाममा पेट्रोल तथा डिजेल बिक्री वितरण गरेकाले मुद्दा चलाइएको हो।’

यस्तै बङ्गलामुखी आयल स्टोर्सले पेट्रोल पम्पलाई जाली बनाएको र बेकरी उद्योगले नाप्ने तथा तौलने यन्त्र दर्ता नगर्नाका साथै उत्पादित वस्तुमा परिणाम उल्लेख नगरेकाले कारवाहीका लागि मुद्दा दर्ता गरिएको कार्यालयले जनाएको छ।

मुद्दा दर्ता भएका पेट्रोल पम्प तथा उद्योग दोषी ठहरिएमा मैतीदेवी, चुच्चेपाटी र बङ्गलामुखी पेट्रोल पम्पले रु ३० हजार जरिवाना र तीन वर्ष कैदका साथै भद्रकाली आयल स्टोर्स र बेकरी उद्योगले रु दश हजार जरिवाना र एक वर्ष कैद सजाय भोग्नुपर्नेछ।
डिसी नेपाल

About the author
nepalbritain news

nepalbritain news