२६ असार २०८२, बिहीबार
Follow Us

अनुशासन कारबाही पूर्वाग्रहपूर्ण रहेको शेखर समूहको निस्कर्ष

नेपालब्रिटेन संवाददाता
२६ असार २०८२, बिहीबार १३:५७

काठमाडौ । नेपाली कांग्रेसको शेखर कोईराला समूहले पार्टीको अनुशासन समितिले १८ नेता कार्यकर्तामाथि गरेको कारबाहीलाई अवैधानिक र पूर्वाग्रहपूर्ण ठहर गर्दै अस्वीकार गर्ने निर्णय गरेको छ ।

काठमाडौंको विशालनगरस्थित समूहको सम्पर्क कार्यालयमा बसेको बैठकले संस्थापन पक्षले गरेको कारबाही विधानसम्मत नभएको र राजनीतिक पूर्वाग्रहबाट प्रेरित रहेको निष्कर्ष निकालेको हो । बैठकले अनुशासन समिति आफैँले विधान उल्लंघन गरेको आरोप लगाउँदै यो कारबाहीलाई ‘स्वार्थ समूहको प्रतिशोध को संज्ञा दिएको हो ।

अनुशासन समितिकै दुई सदस्यले उक्त निर्णयमा असहमति जनाउँदै फरक मत लेखेको जानकारी गराएपछि इतर समूह थप आक्रामक बनेको छ । इतर समूहले कारबाही फिर्ता गर्न माग गर्दै सभापति शेरबहादुर देउवासँग छलफल गर्ने निर्णय समेत गरेको छ ।

नेता कोइराला सहितले सभापतिसँग छलफल गर्ने निर्णय बैठकले गरेको हो । कोइराला समूहले तत्कालका लागि कारबाहीमा परेका नेताहरूलाई पार्टीको केन्द्रीय कार्यसमितिमा पुनरावेदन दिन लगाउने र त्यसपछि यो विषयलाई सशक्त रूपमा उठाउने रणनीति बनाएको छ ।

पार्टी विधानमा कुनै पनि उजुरीमाथि ६ महिनाभित्र कारबाही गरिसक्नुपर्ने स्पष्ट व्यवस्था भए पनि त्यसको पालना नभएकाले कारबाही स्वतः अवैधानिक भएको इतर समूहको निस्कर्ष छ ।

धेरै पढिएको