काठमाडौं । असार २४ गते मध्यरातमा ल्हेन्दे खोलामा आएको लेदोसहितको बाढीले बगाएकाहरुमध्ये थप दुई जनाको शव फेला परेको छ ।
चितवनको ईच्छाकामना गाउँपालिका–६ स्थित कालीखोला र नवलपरासी जिल्लाको विनय त्रिवेणी गाउँपालिका–७ स्थित व्यारेज पुलमा सो शव फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी नायब उपरीक्षक एवम् सहायक प्रवक्ता शैलेन्द्र थापाले अन्य बेपत्ता भएकाहरुको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीका सुरक्षाकर्मीले भोटेकोशी र त्रिशुलीको दुवै किनारामा खोजीकार्य जारी राखेको जानकारी दिए ।
नदीमा आएको बाढीका कारण बन्द भएको सडकखण्ड सशस्त्र प्रहरी लगायतको सुरक्षा फौजले अस्थायी पदमार्ग बनाई एक सय ४३ जनालाई सुरक्षितकासाथ गन्तव्यतर्फ पुर्याएको छ । त्यस्तै १२ जना नेपाली नागरिकको विभिन्न निजि हेलिकोप्टरमार्फत सुरक्षित स्थानमा सारिएको हो ।
यसैगरी, चीनतर्फ रहेका विपद् प्रभावित ९१ जना नेपाली नागरिकहरुलाई नेपाल चीन समकक्षी सम्बन्धित निकायहरुको समन्वयमा चीनको केरुङ्गमा सुरक्षितकासाथ बस्न र खानाको व्यवस्था मिलाइएको छ ।
असार २४ गते मध्यरातमा आएको बाढीले तीन् सुरक्षाकर्मीसहित १४ जना नेपाली र ६ जना चिनीयाँ नागरिक बगाई बेपत्ता भएका थिए ।
हालम्म ६ जनाको शव फेला परेको छ भने पाँच वटा मानव अङ्ग फेला परेको छ । फेला परेको शवमध्ये एक वटा शवको मात्र पहिचान हुनसकेको छ बाँकी शव र मानव अङ्ग त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ ।