२८ असार २०८२, शनिबार
Follow Us

गैरआवासीय नेपाली संघको सदस्यता वितरणमा उत्साहजनक प्रगति : ९४ हजार आवदेन, ७१०६५ जनाको स्वीकृत

नेपालब्रिटेन संवाददाता
२८ असार २०८२, शनिबार १२:४५

लण्डन । गैरआवासीय नेपाली संघको सदस्यता वितरणमा उत्साहजनक प्रगति भएको छ । संघको विधानअनुरुप जुलाई महिनाभित्र सदस्यता वितरण गरिसक्नु पर्ने व्यवस्था गरिएको छ । सो अनुरुप करिब ६० देशमा एमआईएस मार्फत सदस्यता वितरण भैरहेको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीका अनुसार शनिबार बिहानसम्म ७१,०६५ जनाको सदस्यता स्वीकृत भइसकेको छ।

डा. केसीले सदस्यता वितरणमा भएको पछिल्लो प्रगति उत्साहजनक रहेको भन्दै कठिन परिस्थितिका बीच प्राप्त उपलब्धिले संगठनलाई अझ सुदृढ र उत्साहित बनाएको बताए।

“निकै ठूलो चुनौतीका बीचमा भएको सदस्यता वितरणमा देखिएको प्रगतिले हामीलाई बलियो र उत्साहित बनाएको छ,” उनले भने।

त्यसैगरी, उनले सम्पूर्ण राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूलाई निर्धारित समयभित्र आ–आफ्नो अधिवेशन सम्पन्न गर्न आग्रहसमेत गरेका छन्।

संघ २०२५–२०२७ कार्यकालका लागि सदस्यता संकलन तीव्र गतिमा भइरहेको छ। संघका अनुसार २०२५ जुलाई ११ सम्ममा कुल ६८ हजार ६५१ सदस्यताको आवेदन स्वीकृत भइसकेको छ भने थप ५ हजार १९८ आवेदन स्वीकृतिको प्रक्रियामा छन्। विश्वभर फैलिएका ५६ वटा राष्ट्रिय समन्वय परिषद् मार्फत सदस्यता संकलन भइरहेको छ। संघले स्मार्ट गैरआनेसंघ मोबाइल अनुप्रयोगमार्फत सदस्यता प्रक्रिया झन् सहज, पारदर्शी र आधुनिक बनाएको जनाएको छ।

राष्ट्रिय समन्वय परिषद् देशगत स्वीकृत सदस्य विवरणमा जापान सबैभन्दा अगाडि देखिएको छ, जहाँ १८ हजार ३९३ सदस्यता स्वीकृत भएका छन्। अष्ट्रेलियामा १५ हजार ५५१, संयुक्त राज्य अमेरिकामा ९ हजार ६७१, बेलायतमा ३ हजार ५०८ र साउदी अरेबियामा ३ हजार १२७ सदस्य रहेका छन्। त्यसैगरी क्यानडामा ५ हजार ७५०, कतारमा १ हजार १२४, आयरल्याण्डमा १ हजार ४०२ र संयुक्त अरब इमिरेट्समा १ हजार ९२० सदस्यता स्वीकृत भएका छन्।

क्षेत्रगत सदस्यता विवरणमा एशिया प्रशान्त क्षेत्रमा १९ हजार ९११, ओसियानिया क्षेत्रमा १६ हजार ५३६, अमेरिकी महादेशमा १५ हजार ४२१, युरोपमा ९ हजार ८११, मध्यपूर्वमा ६ हजार ३५७ र अफ्रिकामा ६१५ सदस्य रहेका छन्। क्षेत्रगत सहभागितालाई प्रतिशतमा हेर्दा एशिया प्रशान्त २९ प्रतिशत, ओसियानिया २४.१ प्रतिशत, अमेरिकी महादेश २२.५ प्रतिशत, युरोप १४.३ प्रतिशत, मध्यपूर्व ९.३ प्रतिशत र अफ्रिका १ प्रतिशत रहेको छ।

गैरआवासीय नेपाली संघ स्रोतका अनुसार, हालसम्म ५६ वटा राष्ट्रिय समन्वय परिषद् व्यवस्थापन सूचना प्रणालीमा आबद्ध भइसकेका छन्। जापान र अष्ट्रेलियामा सदस्यता वितरण प्रक्रिया सम्पन्न भइसकेको छ। त्यस्तै क्यानडा, न्युजिल्यान्ड, आयरल्याण्ड, साउदी अरेबिया, साउथ सुडान र फ्रान्समा पनि सदस्यता वितरण सकिएको छ। संघले बाँकी सदस्यता आवेदन स्वीकृति भएपछि सदस्य संख्या अझै बढ्ने अपेक्षा गरेको छ। गैरआवासीय नेपाली संघ नेतृत्वले सदस्यता संकलन अभियानलाई विश्वभरका नेपालीहरूको सहभागिता सुनिश्चित गर्दै अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।

धेरै पढिएको