काठमाडौँ । ढुकुरलाई प्रेमको प्रतीक मानिन्छ । प्रेमको प्रतीक मानिने ढुकुरको नाम जोडेर मोरङको सुन्दहरैँचा नगरपालिकाले उत्कृष्ट १२ दम्पतीलाई १० हजार नगदसहित ‘ढुकुर जोडी’ सम्मान गरेको छ ।
नगरपालिकाले बिहे गरेको १० वर्ष भएको र परिवारसँगै समाजमा पनि मिलेर बसेका उत्कृष्ट १२ दम्पतीलाई नगदसहित ‘ढुकुर जोडी’ सम्मान गरेको हो । आइतबार पालिकाले हरेक वडाबाट १-१ उत्कृष्ट दम्पतीलाई नगदसहित ‘ढुकुर जोडी’ सम्मान प्रदान गरेको पालिकाका प्रवक्ता रोशनप्रसाद ढकालले जानकारी दिए ।
ढकालका अनुसार सुन्दरहरैँचामा १२ वटा वडा छन् । १२ वटै वडाबाट एक एक जोडी छनोट गरी सम्मान गरिएको हो । ‘समाजमा परिवार विघटनका घटनाहरू बाहिर आइरहेका छन्, राम्रा जोडी छन् भन्ने सन्देश दिनका लागि ‘ढुकुर जोडी’ खोजी गरेर सम्मान गरिएको हो,’ ढकालले भने ।
नगरपालिकाले सभ्य र संवेदनशील पारिवारिक सम्बन्ध विकास गर्न र मेलमिलापपूर्ण परिवार निर्माणमा टेवा पुगोस् भन्ने उद्देश्यले यो अभियान पहिलो पटक सञ्चालन गरिएको उनले बताए ।