रुकुम । रुकुमपूर्वमा युवतीले आत्महत्या गरेको प्रकरणमा एक पत्रकार मुछिएका छन् । एमाले सम्वद्ध पत्रकारको संस्था प्रेस चौतरीका जिल्ला अध्यक्ष परिचन्द्र खत्री घटनामा मुछिएका हुन् ।
सिस्ने गाउँपालिकामा कार्यालय सहयोगीका रुपमा कार्यरत २५ वर्षीया कोइली शाही शनिबार आफ्नै डेरामा झुण्डिएर आत्महत्या गरेको अवस्थामा मृत फेला परेकी थिइन् ।
कोठामा बाहिरबाट चुकुल लगाइएको भेटिएको थियो । उनी सिस्ने गाउँपालिका–६ खोपिचारकी स्थायी बासिन्दा हुन् ।
शाहीका परिवारले पत्रकार खत्रीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा आइतबार आत्महत्या दुरुत्साहनको मुद्धा दर्ता गराएका छन् । जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रमुख डिएसपी उमाशंकर प्रसाद यादवका अनुसार खत्रीले मृतक शाहीलाई पटकपटक फोन गरेर मानसिक तनाब दिँदै आएका थिए ।
खत्रीकै तनाबका कारण शाहीले आत्महत्या गरेको दाबी परिवारको छ । उजुरी दर्तापछि पत्रकार खत्री फरार भएका छन् । उनको खोजी जारी रहेको डिएसपी यादवले बताए ।