काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको अडियो प्रकरणमा छिटै एउटा निष्कर्ष आउने बताएका छन् ।
सोमबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले उक्त प्रकरणमा प्रधानमन्त्रीले चासो राख्दै अध्ययन गरिरहेको भन्दै छिटै एउटा निष्कर्ष आउने बताएका हुन् ।
मन्त्रीमाथि उठेका प्रश्नहरूको जवाफदेहिता सम्बन्धित व्यक्तिले बेहोर्नुपर्ने उनले बताए । बर्तौलाले अडियो प्रकरणमा दोषी देखिए सरकारका तर्फबाट कसैलाई जोगाउने काम नहुने स्पष्ट पारे ।
त्यस्तै, उनले सत्तासाझेदार दलबीच सरकारका मन्त्रीहरूले एक वर्षमा गरेको कामकारबाहीका बारेमा समीक्षा हुने जिकिर गरेका छन् ।