काठमाडौं । दार्चुलामा तुइन चुँडिदा महाकाली नदीमा खसेर एकजना बेपत्ता भएका छन । दार्चुलाको व्याँस गाउँपालिका–२ दुम्लिङस्थित तुइनबाट मंगलबार महाकाली नदीमा खसेर स्थानीय २८ वर्षीय नारायण बुढाथोकी बेपत्ता भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।
दिउँसो १२ बजे दुम्लिङबाट महाकाली तरेर भारततर्फ जानेक्रममा बुढाथोकी तुइन चुँडिदा नदिमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिएका छन ।
नारायणसँगै स्थानीय २६ वर्षीय जितु बिष्ट र ४५ वर्षीय जयदु बुढाथोकी पनि तुइनमार्फत महाकाली नदी पार गर्न गएका थिए । नारायणभन्दा अघि जितुले तुइनमार्फत महाकाली नदी सकुशल पार गरी भारतर्फ गएका थिए ।
त्यसपछि महाकाली पार गर्ने क्रममा नारायण नदीको बीच भागमा पुगेपछि तुइन चुँडिदा बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ । उक्त घट्नापछि जितु र नारायणसँगै गएका जयदुले तुइन चढ्ने प्रयास नै गरेनन् ।
बेपत्ता भएका नारायणको स्थानीयवासी र प्रहरीले खोजी गरिरहेको प्रहरी निरीक्षक रावतले जानकारी दिएका छन ।